सम्पादकीयः कुष्ठरोग नियन्त्रणमा चुनौती



‘कुष्ठरोगको छ ओखती, सामाजिक लाञ्चना र विभेद मुख्य चुनौती’ भन्ने मूल नाराका साथ २५ जनवरी २०२६ आइतबारका दिन नेपालसहित विश्वभर ७३औँ विश्व कुष्ठरोग दिवस विभिन्न कार्यक्रमहरू गरी मनाइएको छ । हरेक वर्षको जनवरी महिनाको अन्तिम आइतबारका दिन यो दिवस मनाइने गरिन्छ । विश्वभरीका कुष्ठप्रभावितहरूको हक, हित र उनीहरूको उचित उपचार सेवा प्रवाह गर्ने, उनीहरूप्रति हुने भेदभाव अन्त्य गरी सम्मानित जीवनका लागि वातावरण सिर्जना गर्ने तथा विश्वबाट कुष्ठरोगको निवारण गर्ने उद्देश्यका साथ सन् १९५३ देखि विश्व कुष्ठरोग दिवस मनाइँदै आइएको छ । नेपाल सरकारले सन् २०१० मा नै राष्ट्रियस्तरमा कुष्ठरोग निवारणको लक्ष्य प्राप्त गरिसकेको छ । तर प्रदेश र जिल्लास्तरमा भने कुष्ठरोगको स्थिति अझै पनि भयावह नै देखिन्छ । देशका सातवटा प्रदेशमध्ये लुम्बिनीसहित तीनवटा प्रदेशमा अझ पनि कुष्ठरोग निवारणको लक्ष्य प्राप्त हुन सकेको छैन् । तथ्यांक हेर्दा हरेक वर्ष कुष्ठरोगीको सङ्ख्या वृद्धि भइरहेको छ । पछिल्ला केही वर्षयता बाँके लगायतका अन्य जिल्लाहरूमा कुष्ठरोगका नयाँ बिरामीको सङ्ख्या बढ्दै गइरहेको पाइएको छ ।

चालू आर्थिक वर्ष २०८२–०८३ को छ महिनामा मात्रै ८६ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । चालू आवको साउनदेखि पुससम्म छ महिनाको अवधिमा बाँके लगायतका जिल्लाका ८६ जना नयाँ कुष्ठरोगी फेला परेका तथ्यांकमा देखिएको छ । नेपालगन्जस्थित साइनिङ अस्पताल आइएनएफ नेपालमा चेकजाँच गराउन आएकामध्ये ८६ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका हुन् । बाँकेमा कुष्ठरोगीको पहिचान र उपचार गर्दै आइरहेको साइनिङ अस्पताल आइएनएफ नेपालको तथ्यांक हेर्दा हरेक वर्ष कुष्ठरोगका नयाँ बिरामीको सङ्ख्या वृद्धि हुँदै आएको पाइएको छ । चालू आर्थिक वर्ष २०८२–०८३ को साउनदेखि पुससम्म छ महिनाको अवधिमा अस्पतालमा परीक्षण गराउन आएका बाँके लगायतका जिल्लाका ८६ जना नयाँ कुष्ठरोगी फेला परेका हुन् । विभिन्न जिल्लाहरूबाट उक्त अस्पतालमा चेकजाँच गर्न आएका ३४२ जनाको प्रयोगशाला परीक्षण गर्दा ८६ जना नयाँ कुष्ठरोगी भेटिएका हुन् । जसमध्येका ५६ जना नयाँ बिरामीमा स्मीयर जाँच पोजेटिभ पाइएको थियो । अघिल्लो आव २०८०–०८१ मा यस अस्पतालमा विभिन्न जिल्लाबाट चेकजाँच गर्न आएका १४६ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका थिए ।

गत आव २०८१–०८२ मा उक्त सङ्ख्यामा वृद्धि भई १७४ जना नयाँ कुष्ठरोगी फेला परेका थिए । जसमध्ये ९३ जना बाँके जिल्लाकै विभिन्न स्थानका रहेका थिए । त्यसैगरी अघिल्लो आवको साउनदेखि पुससम्म ६० जना नयाँ बिरामी फेला परेकामा गत आवको छ महिनामा ५८ जना नयाँ कुष्ठरोगी फेला परेका थिए । सोही अवधिमा यस वर्ष सङ्ख्या बढेर ८६ पुगेको छ । यसै अस्पतालमा मात्रै चेकजाँच गराउन आएका विभिन्न जिल्लाका नागरिकहरूमा नयाँ कुष्ठरोग भेटिने क्रम विगत तीन वर्षदेखि लगातार वृद्धि भइरहेको तथ्यांकले देखाएको छ । यो तथ्यांकले कुष्ठरोगको उच्च प्रभाव दर रहेको अवस्था देखाउँछ । समुदायस्तरमा कुष्ठरोगबारे जनचेतनाको स्तर वृद्धि गराउन, कुष्ठरोग निवारणका लागि देखिएका विभिन्न समस्या तथा चुनौतीहरू विद्यमान रहेको अवस्थामा समस्याहरूलाई चिर्दै अगाडि बढ्न र कुष्ठरोगमुक्त नेपाल निर्माण गर्न सम्पूर्ण सरोकारवाला पक्ष गम्भीर हुनु जरुरी छ । कुष्ठरोग निवारण गर्नका लागि प्रमुख रूपमा सचेतना नै हो । सचेतनाका विभिन्न कार्यक्रमहरूसहित समुदायमा व्यापक रूपमा खोजी, पहिचान र उपचारका कार्यहरू सँगसँगै अगाडि बढाउनु आवश्यक छ । समाजमा कुष्ठरोगलाई अझै पनि पूर्वजन्मको पाप र सामाजिक कलङ्कका रूपमा चित्रित गरिँदै आइएको छ, यसलाई चिर्न र प्रभावकारी भूमिका निर्वाह सरोकारवालाहरूले पहल लिनु आवश्यक छ । हरेक वर्ष औपचारिक रूपमा मात्रै दिवस मनाएर र अभियान मात्रै सञ्चालन गरेर यो रोगको नियन्त्रण सम्भव छैन् । तसर्थः समुदायस्तरबाटै यसलाई न्यूनीकरण, रोकथाम र नियन्त्रण गर्न जरुरी छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १२ गते सोमबार