8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

मानवअधिकारको हनन् नहोस्

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ १८, २०७६  

सबैजना तीजको रौनकमा रहेको बेला सोमबार दिउँसो एउटा समाचार सार्वजनिक भयो । प्रहरीको गोली लागेर एक घाइते । तत्कालिन माओवादीले सुरु गरेको शसस्त्र युद्वका बेला यस्ता घटना सामान्य मानिएपनी आजभोली भने गोली चलेको समाचार चल्ने वित्तिकै आम मानिसहरुको ध्यान तानिने गर्दछ । अभियुक्तलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउने गरेपनी ती गोली काण्ड भने कहिल्यै पनी विवादरहित हुन सकेका छनैन् । कतीपय अवस्थामा भने मानवअधिकारको हनन् भएको भन्दै मानवअधिकार आयोगमा उजुरी पर्ने गर्दछ । अधिकांश धेरै यस्ता घटनाहरुमा प्रहरीले बाध्य भएर गोली चलाउने भन्दा पनी चर्चामा आउनको लागि गोली चलाउने गरेको आरोप प्रहरीलाई लाग्ने गर्दछ । सर्लाहीमा सरकारले प्रतिबन्ध लगाएको विप्लप नेतृत्वको नेकपाका जिल्ला नेताको इन्काउण्टर सर्वाधिक चर्चामा रहन पुग्यो ।

केही हप्तासम्म यसै बिषयलाई लिएर संसदमा समेत ठूलो बहस भयो । प्रहरीले निर्दोष व्यक्तिलाई नियन्त्रणमा लिएर हत्या गरेको भन्दै परिवारहरु मानवअधिकार आयोगको शरणमा समेत पुगे । यस घटनाको बारेमा छानविन गर्न सरकारले छानविन समिती गठन गर्न बाध्य भयो । यसअघिका इन्काउण्टर चरी, घैंटे लगायतका घटनाहरु समेत विवादरहित हुन सकेनन् । पछिल्लो समय नेपाल प्रहरीमा मानवअधिकारका घटनाहरु कम हुने गरेको भएपनी कतीपय अवस्थामा अपराध न्यूनिकरण गर्ने नाममा मानवअधिकारको उल्लघंन हुने गरेको पाइन्छ । सोमबार नेपालगञ्ज उपमहानगरपालिका २० राँझा चोक नजिक नियन्त्रणमा लिएका एक अभियुक्त भागेको भन्दै प्रहरीले गोली चलाएको बतायो । जिल्ला अदालत बर्दिया ६ बर्ष कैद सजाय तोकेका बाँके बैजनाथ गाउँपालिका ४ का नरेन्द्र न्यौपानेलाई प्रहरीले जमुनाहाबाट नियन्त्रणमा लिएको थियो । बाइकमा ल्याउँदै गर्दा भागेपछि नियन्त्रणमा लिन गोली चलाउनुपरेको कोहलपुर प्रहरीले जनाइसकेको अवस्था छ ।

कुनै पनी अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि उसको सुरक्षा गर्न पनी प्रहरीको दायित्तव नै हो । प्रहरी हिरासतमा समेत अभियुक्तलाई मानवअधिकारका सिद्वान्तहरु पालना गराउनुपर्छ । कतीपय अवस्थामा हिरासत भित्रै नै प्रहरीको कुटाईबाट अभियुक्तको ज्यान गएको नेपालमा नै धेरै उदाहरणहरु रहेका छन् । कहिलेकाही प्रहरीबाट नै मानवअधिकार हनन्का घटनाहरु हुने गरेका छन् । प्रहरीले आफुलाई मानवअधिकारमैत्री भएको बताएपनी अझै पुरै कार्यान्वयनमा गरेको भने पाइदैन । प्रहरीले आगामी दिनमा अभियुक्तलाई नियन्त्रणमा लिनको लागि जती सक्यो कम बल प्रयोग गर्नुपर्ने जरुरी देखिन्छ । सिमित चर्चामा आउनको लागि सजिलै पक्राउ गर्न सकिनेलाई गोली प्रयोग गर्ने गतिविधीले प्रहरी संगठनलाई समेत पछिसम्म असर पार्न सक्छ । त्यसैले प्रहरीले आफ्ना काम कर्तव्य गर्दा जती सक्यो तेती कम बल प्रयोगको गर्ने सिद्वान्तको पालना गर्दै मानवअधिकारको रक्षा गर्न जरुरी छ ।

प्रकाशित मितिः बुधबार, भदौ १८, २०७६     10:12:28 AM  |