कोहलपुर ।
बाँके क्षेत्र नम्बर १ का संघिय साँसद महेश्वर गहतराज ‘अथक’ ले राँझा विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थलका रुपमा विकास गर्न माग गरेका छन् । मंगलबार संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई भेटी अथकले यस्तो माग गरेका हुन् । मन्त्रालयले तयार पारेको कार्ययोजनामा बाँकेका महत्वपूर्ण विषयहरु छुटेको भन्दै उनले मन्त्रीलाई ध्यानाकर्षण समेत गराएका थिए ।
भेटका क्रममा सांसद अथकले राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक पुर्वाधार तथा स्तरोन्नतीका लागि आग्रह गरेका थिए । साथै नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी नेपालगञ्ज–दिल्ली अन्तराष्ट्रिय उडानका साथै आन्तरिक उडान तर्फ भैरहवा तथा पोखराका लागि सम्भाब्यता अध्ययन गर्न समेत उनले आग्रह गरेका छन् ।
उनले नेपालगन्जको वागेश्वरी मन्दिर, कम्दीस्थित कमरसा मजार, नरैनापुरको बरफानी बाबाधाम, बैजापुरस्थित भुरभवानी मन्दिर, कोहलपुरस्थित बिराटेश्वर मन्दिर, बैजनाथमा निर्माणाधिन अवस्थामा रहेको मानसरोवर स्मारक पार्क र खजुराको बाबास्थान मन्दिरलाई धार्मिक साँस्कृतीक पर्यटकीय सर्किटका रुपमा विकास गर्न समेत आग्रह गरे । भेटका क्रममा मन्त्री भट्टराईले मन्त्रालयको कार्ययोजनामा छुट्न गएका विषयहरुलाई समावेश गरी सम्बोधन गर्ने प्रतिवद्धता जनाएको सांसद अथकले जानकारी दिए ।