कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिकामा रहेको दीप ज्योति माध्यामिक विद्यालयले एकल महिलालाई सम्मान गरेको छ । हरितालिका तीजको अवसरमा एकल महिलालाई सम्मान गरेको हो । बैजनाथ गाउँपालिका वडा नं. १ मा रहेको १५ जना एकल महिलाहरुलाई सम्मान गरेको थियो । कार्यक्रममा बैजनाथ गाउँपालिकाका सामाजिक विकास संयोजक गुमान बहादुर दमाईले एकल महिलाहरुलाई समाजमा एकल महिला विरुद्ध हुने हिंसा अन्त्य हुनपर्नेमा जोड दिए ।
महिलालाई हेर्ने नजरमा अझैं परिवर्तन आइनसकेको बताउँदै पुरुषको सोँचमा परिर्वतन आएमात्र महिलामाथि हुने हिंसामा कमी आउने उनले बताए । विद्यालयका प्राधानाध्यापक दमन पाण्डेका अनुसार आर्थिक रुपमा विपन्न भएका महिलाहरुलाई सम्मान गरेको हो । ‘उनीहरुलाई धोती, चुरा, टिकुली लगायतका सामानहरु दिएका हौं’ उनले भने, ‘एकल महिलाहरु शिक्षाकै कारण रोजगारी नपाउने, आर्थिक अवस्था कमजोर हुने हुँदा लक्षित महिलाको लागि छुट्टिने बजेटमा एकल महिला शिर्षक छुट्याउनुपर्छ ।’
कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका वडा नम्बर १ का अध्यक्ष रुप बहादुर मल्लले गत आर्थिक बर्ष २०७५÷७६ मा वडा कार्यालयबाट लक्षित वर्गका कार्यक्रम एकल महिलासम्म नपुगेको स्विकार गरे । ‘वडामा रहेका संस्था, सञ्जाल लगायतबाट लक्षित वर्गका कार्यक्रम सञ्चालन गरिएको थियो’ उनले भने, ‘त्यसैले लक्षित वर्गसम्म पुग्न सकेन । अब चालु आर्थिक बर्षमा नयाँ ढंगले अगाडि बढ्ने योजना बनाइराखेका छौं ।’
जेष्ठ एकल महिला सुनकला बुढाले आफूले एकल भएकै कारण समाजमा भोग्नुपरेको संघर्ष र एकल महिलाको क्षेत्रमा काम गर्न सक्ने बताइन् । कार्यक्रममा तीजको दर खाने कार्यक्रम सहित साँस्कृतिक झल्कीने नृत्यहरुपनि प्रस्तुत भएको थियो ।