कोहलपुर ।
बाँकेको कोहलपुरमा प्रथम हवल्दारपुर कृषि व्यापार तथा तीज महोत्सव शुरु भएको छ । हवल्दारपुर कृषि उपज बजार समितिको आयोजनामा महोत्सव शुरु भएको हो । शुक्रबारबाट शुरु भएको कृषि व्यापार महोत्सवको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले एक समारोहका बीच उद्घाटन गरिन् ।
उनले कृषि समृद्धिको आधार भएको बताईन् । मन्त्री पौडेलले कृषि क्षेत्रको विकास भएमा देश र जनता पनि आर्थिक रुपमा सबल हुने दाबी गरिन् । प्रदेश सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर आवधिक योजना निर्माण गरिहेको उनले जानकारी दिईन् ।
यस्तै प्रदेश सभा सांसद कृष्णा केसी (नमुना)ले पनि कृषि क्षेत्रको आधुनिधिकरणको विकल्प नरहेकोमा जोड दिईन् । उनका अनुसार किसानको पक्षमा सरकार र सरकारको पक्षमा किसान हुनुपर्छ । ‘व्यापार मेलाको माध्यमबाट पनि कृषि क्षेत्रको प्रवद्र्धन गर्न सकिन्छ’ उनले भनिन्, ‘कृषिको क्षेत्रमा रहेका समस्या समाधानको लागि पनि सबै एकजुट हुनुपर्छ ।’ महोत्सवको माध्यमबाट स्थानीय कला संस्कृतिको प्रवद्र्धनमा समेत यसले भुमिका खेल्ने सांसद नमुनाको भनाई छ ।
हवल्दारपुर कृषि उपज बजार समितिका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक नर बहादुर केसी (नरेश)का अनुसार कृषि उपज बस्तुको तथा स्थानीय उत्पादन र बजारीकरण र प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । प्रथम हवल्दारपुर कृषि व्यापार तथा तीज महोत्सवको मुख्य आकर्षणको रुपमा झुम्रा, सोराठी नाच, कृषि उपज वस्तु, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको छ । महोत्सव २३ गते सम्म संचालन हुनेछ ।









प्रतिक्रिया दिनुहोस्