कोहलपुर ।
कोहलपुरमा रहेका यातायात व्यवसायीहरुले सरुवा भएका इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेश बहादुर सिंहको बिदाई गरेका छन् । बाँकेको कोहलपुरमा प्रधान कार्यालय रहेका नमस्ते नेपाल यातायात र बागेश्वरी यातायात प्रालिले संयुक्त रुपमा उनको शनिबार बिदाई गरेका हुन् । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सिंहको काठमाडौंमा सरुवा भइसकेको छ । बिदाई कार्यक्रममा बोल्दै नमस्ते नेपाल यातायात प्रा.लिका अध्यक्ष निम बहादुर चलाउनेले कोहलपुरमा शान्ति सुरक्षामा महत्वपूर्ण भूमिका खेलेको बताए ।
उनले प्रहरी नायब उपरीक्षक सिंहको आगामी दिनमा समेत सफल कार्यकालको शुभकामना व्यक्त गरे । ‘नेपाल प्रहरी र यातायात व्यवसायिहरु बिच सहकार्य र सकारात्मक सोचको विकास हुनुपर्छ’ अध्यक्ष चलाउनेले भने, ‘आगामी दिनहरुमा समेत सुरक्षा निकायहरुसँग यातायात व्यवसायीहरु सहकार्य गर्न तयार छन् ।’ बागेश्वरी यातायातका अध्यक्ष नमप्रसाद शर्माले यातायात क्षेत्र विशेष गरी सुरक्षा निकायसँगै सम्बन्धित हुने बताए ।
‘हामी यातायात व्यवसायीहरुले प्राय गरेर सुरक्षा निकायसँगै सहकार्य गर्नुपर्ने हुन्छ’ उनले भने, ‘यातायात क्षेत्रमा आएका केहि समस्याहरु समाधान गर्नमा सहयोग पु¥याएकोमा प्रहरी नायब उपरीक्षक सिंहलाई धन्यावाद दिन चाहन्छु ।’ कार्यक्रममा बोल्दै प्रहरी नायब उपरीक्षक सिंहले कोहलपुर शान्ति सुरक्षाका दृष्टिकोणले अति संवेदनशिल ठाउँ भएकाले शान्ति सुरक्षाका चुनौतिहरु धेरै रहेको बताए । कोहलपुरका यातायात व्यवसायीहरुले शान्ति सुरक्षामा सहयोग गरेको धन्यावाद समेत उनले व्यक्त गरे । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सिंहको काठमाडौं सरुवा भएसँगै उनको ठाउँमा अर्का प्रहरी नायब उपरीक्षक हेमबहादुर शाही आउँदैछन् ।
प्रतिक्रिया दिनुहोस्