8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

घुम्ती पुस्तकालयमा जेष्ठ नागरीकको आकर्षण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ ४, २०७६  

कोहलपुर ।

ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरले सञ्चालन गरेको घुम्ती पुस्तकालय कार्यक्रममा स्थानिय जेष्ठ नागरीकहरुको आकर्षण देखिएको छ । ज्ञानोदयले १२ औं राष्ट्रिय पुस्तकालय दिवसको सन्दर्भमा कोहलपुर नगरपालिकाको वडा नं. १५ मा सञ्चालन गरेको कार्यक्रममा स्थानीय जेष्ठ नागरीकहरुको आकर्षण देखिएको हो । यस अघि ज्ञानोदयले वडा नं. १४ मा सञ्चालन गरेको घुम्ती पुस्तकालय कार्यक्रममा १ सय बढि लाभान्वित भएका थिए । तीन दिनसम्म सञ्चालन भएको वडा नं. १४ मा विशेष गरी युवा समूहको आकर्षण देखिएपछि वडा नं. १५ मा भने जेष्ठ नागरीकहरुको आकर्षण बढि रहेको थियो ।

सोमबारबाट वडा नं. १४ मा सञ्चालन भएको कार्यक्रम आजसम्म चल्नेछ । कोहलपुर नगरपालिका उप–प्रमुख सञ्जु कुमारी थारुले भौगोलिक दुरीका कारण पुस्तकालयसम्म जान समस्या भएका ग्रामिण नगरवासीहरुकालागि कार्यक्रम विशेष महत्वपूर्ण रहेको बताइन् । दोस्रो चरणको घुम्ती पुस्तकालय कार्यक्रमको उद्घाटन गर्दै उप–प्रमुख थारुले समुदायस्तरमा रहेका नागरीक तथा पाठकहरुको चाहना बमोजिमका पुस्तकहरु वडास्तरमै अध्ययन गर्ने व्यवस्था ज्ञानोदयले मिलाएको भन्दै खुशी व्यक्त गरिन् । उनले जेष्ठ नागरीकहरुका लागि आध्यात्म, जीवन जगत र किसानहरुकालगि उपयोगी हुने पुस्तकहरुलाई बढि प्राथमिकता दिनुपर्ने धारणा राखिन ।

यस्तै वडा नं. १४ का वडाध्यक्ष पतिराम थारुले घुम्ती पुस्तकालय कार्यक्रमले समुदायस्तरमा पठन संस्कृतीको विकासमा टेवा पुग्ने विशवास व्यक्त गरे । उनले कार्यक्रम सञ्चालन पछि वडास्तरमा पुस्तक पढ्ने वानीको विकास मात्र नभई पुस्तकालयको महत्व र आवश्यकताबारे पनि स्थानीयहरुलाई बोध हुने बताए । पहिलो दिनको कार्यक्रममा स्थानीय जनप्रतिनिधीहरु, किशोरी समूहका पदाधिकारीहरु, राजनीतिक कार्यकर्ता एवम् अध्ययनमा विशेष रुची राख्ने व्यक्तिहरुको सहभागिता रहेको कार्यक्रम संयोजक तथा पुस्तकालयका सह–सचिव निर्मल आचार्यले बताए ।

प्रकाशित मितिः बुधबार, भदौ ४, २०७६     10:43:37 AM  |