सांस्कृतिक महामहोत्सव ज्ञान महायज्ञ आजबाट



कोहलपुर ।

बाँके जिल्लाको कोहलपुरमा ‘कोहलपुर बाबानगर श्रीमद्भागवत महापुराण श्री कृष्ण जन्माष्टमी धार्मिक सांस्कृतिक महामहोत्सव ज्ञान महायज्ञ २०७६’ आजबाट शुरु हुदैछ । औराह बाबा शिव शक्ति मन्दिर बाबानगरले पत्रकार सम्मेलनको आयोजना गरि महोत्सव हुन लागेको जानकारी दिएको छ । ९ गते सम्म संचालन हुने महायज्ञको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको हो ।  

श्री श्री श्री (१०००८) एक हजार आठ हरी संकर गिरि महायज्ञको प्रमुख आथित्यतामा उद्घाटन कार्यक्रम हुनेछ । महायज्ञको उद्घाटन हुनु पुर्व बृहत् कलश यात्रामा सहभागिताको लागि सम्पुर्ण कोहलपुर बासीलाई आग्रह गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै औंराह बाबा शिव शक्ति मन्दिर समितिका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक रमेश कुमार गौतमले मन्दिरको निर्माणको लागि आर्थिक सहायता संकलनको लागि महायज्ञको आयोजना गरिएको जानकारी दिए । आजबाट शुरु हुने महायज्ञबाट ६० लाख आर्थिक संकलन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

यस्तै महासज्ञ संचालनको लागि विभिन्न उपसमिति गठन गरिएको अध्यक्ष गौतमले बताए । उनले सरकारी, गैरसरकारी स्कुल तथा वित्तिय संघ संस्था, समाज संस्थाहरुलाई महायज्ञको  कलश यात्रामा सहभागि हुन सबैमा  आग्रह गरेका छन् । महायज्ञका आर्थिक संयोजक तथा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारीका अनुसार २१ लाख भन्दा माथि दान दिने दातालाई तोकिएको अर्धकट्टीको  शालिक निर्माण गरिने छ । महायज्ञमा आएर पवित्र मन्दिर निर्माण कार्यमा सहयोग गर्न सबैलाई उनले आह्वान गरेका छन् । कोहलपुर बाबानगर श्रीमद्भागवत महापुराण श्री कृष्ण जन्माष्टमी धार्मिक सांस्कृतिक महामहोत्सव ज्ञान महायज्ञको अवसरमा विभिन्न झाँकी, धार्मिक प्रवचन, सांस्कृतिक लगायतका दर्जनौ प्रस्तुती प्रस्तुत गरिनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ २ गते सोमबार