6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

बाँकेमा स्वरोजगार बन्दै गृहिणी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन २३, २०७६  

राँझा ।  बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीका गृहिणी महिला मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत सीप सिकेर स्वरोजगार बन्न थालेका छन् । ‘पहिला हातमा केही पनि सीप थिएन अहिले बेतका सामग्री बनाउन जान्ने भएका छौँ”, वडा नं– ५ छग्रहवा कम्दीकी पवि शाहीले भनिन्,“बेतको फूलदानी, सानो र ठूलो मुढा, ¥याक बनाउन सिकेका छौं”, घरको कामबाहेक खाली समयमा यस्ता सामग्री बनाएर बेच्ने गरेका उनले सुनाइन् ।’ एक महीनासम्मको तालीम पश्चात आफू बेतका सामग्री निर्माण गर्नसक्ने भएको उनले जानकारी दिइन् ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत बेतका सामग्री बनाउने तालीममा कम्दीका ३७ गृहणी महिला सहभागी भएर सीप हासिल गरेको डुडुवा गाउँपालिका–५ का अध्यक्ष परशुराम बुढाथोकीले बताए । उनले गृहिणी महिलाको लागि तालीम फलदायी भएको बताउँदै सीपलाई व्यवहारमा कार्यान्वयनको लागि आफूले वडाबाट आवश्यक सहयोग र समन्वय गरिदिने बताए । तालीममा सिकेको सीपबाट आफ्नै गाउँ–घरमा चाहिने बेत–बाँसका सामग्री तयार पारी व्यावसायिक र स्वाबलम्बी बन्न सहयोग पुगेको स्थानीय कार्यक्रम सिफारिश एवं कार्यान्वयन समितिका सदस्य प्रेमकुमारी शाहीले बताइन् । “बेरोजगार भएर भारत तथा खाडी मुलुकमा गएर दुःख गर्नु भन्दा त यहींँ यस्ता सीप सिकेर स्वरोजगार हुन तालीमले सहयोग पु¥याएको छ”, शाहीले भनिन्, “शुरुमै कमाइ नभए पनि निरन्तर लाग्न सके कमाइ पनि गर्न सकिन्छ ।” बाँस, बेतका सामग्री बनाउन चाहिने कच्चापदार्थ बर्दियाको राजापुरबाट ल्याउने व्यवस्था मिलाइएको छ ।

कच्चापदार्थ ल्याउन स्थानीय तहसँग समन्वय गरिएको छ । खाली समयमा सामग्री बनाएर आर्थिक रुपमा महिलाको जीवनस्तर उकास्न तालीम सहयोगी भएको प्रशिक्षक विकास डेमनडौराले बताए । उनले सामग्री बनाउन चाहिने कच्चा पदार्थको व्यवस्थापनमा पनि सहयोग र समन्वय गरेको जानकारी दिए । रु दुई लाखको लागतमा तालीम सञ्चालन गरिएको कार्यक्रमका जिल्ला सहजकर्ता केशव चालिसेले बताए । महिलाले तालीममा सिकेर बनाएका बेतका विभिन्न सामग्रीको बजारीकरण गर्न व्यापारीसँग समन्वय गरिएको छ । वडा नं ६ हिरमिनियामा पनि यस्तै किसिमको तालीम सञ्चालन गर्ने तयारी गरिएको छ ।

कार्यक्रमले गाउँपालिकाका अति गरीब, विपन्न र आर्थिक रुपले पछाडि परेका परिवारलाई प्रत्यक्ष सहयोग हुनेगरी कार्यक्रम सञ्चालन गरिएको सहजकर्ता चालिसेले जानकारी दिए । बाँकेको नरैनापुर, डुडुवा र जानकी गरी तीनवटा गाउँपालिकामा गत आर्थिक वर्षदेखि मुख्यमन्त्री ग्रामीण विकास परियोजना सञ्चालन भएको हो । यो वर्षदेखि अन्य गाउँपालिकामा पनि कार्यक्रम विस्तार हुने भएको छ । रासस

प्रकाशित मितिः बिहिबार, साउन २३, २०७६     9:24:32 AM  |