काठमाडौं । रक्तिम सांस्कृतिक अभियानले वार्षिक योजना सार्वजनिक गरेको छ । अभियानकाे बुटवल बैठकले सो वार्षिक कार्ययोजना बनाएको हो ।
रक्तिमका अध्यक्ष रेम रानाका अनुसार असोज र कार्तिकमा देशव्यापी प्रशिक्षण कार्यक्रम सम्पन्न गरिने भएको छ । त्यसक्रममा तत्कालका लागि अर्घाखाँची, बुटवल, सुर्खेत र काठमाडौँ प्रशिक्षणको योजना बनिसकेको बताइएको छ । त्यसको तयारीस्वरूप साउन र भदौमा आन्तरिक सङ्गठनात्मक तयारी गरिने भएको छ ।
कार्तिक महिनामा नै तिहार परेकाले देशव्यापी रूपमा प्रगतिशील भैलो खेलिने भएको छ । त्यसमध्ये रक्तिमको केन्द्रीय समितिले देशको कुनै एक शहरमा भैलोे खेल्ने ठेगान भएको बताइएको छ । भैलो खेलिने शहरको बारेमा भनेपछि निर्णय गरिने बताइएको छ ।
मंसिर र पुस महिनामा विचारगोष्ठीको कार्यक्रम निश्चित गरिएको छ । विचारगोष्ठीको विषय, स्थान र मितिका बारेमा भने रक्तिम केन्द्रीय समितिलेपछि निर्णय गर्ने जनाइएको छ । माघ र फागुनमो आर्थिक अभियान सञ्चालन गरिने भएको छ । आर्थिक अभियान रक्तिम सांस्कृतिक अभियानको आन्तरिक आर्थिक अवस्थामा सुधारका लागि सञ्चालन गरिने महासचिव जीवन शाहीले बताउनु भयो ।
चैत्र महिनामा भने सांस्कृतिक जागरणको कार्यक्रम गर्ने निर्णय भएको बताइएको छ । त्यसको ठोस स्वरूपका बारेमा रक्तिमलेपछि योजना बनाउने भएको छ । त्यसपछिको समयमा भने रक्तिमको साङ्गठनिक अभियान सञ्चालन हुने बताइएको छ । वार्षिक योजनाभित्र विभिन्न गीति नाटकका साथै अन्य नाटकहरूको लेखन, प्रकाशन र मञ्चन गरिने भएको छ । त्यसका लागि रक्तिमका केन्द्रीय सदस्यहरूलाई जिम्मा दिइएको रक्तिमले जनाएको छ ।
आन्तरिक सङ्गठनात्मक कार्यलाई व्यवस्थित बनाउनका लागि केन्द्रीय समितिका साथीहरूको कार्यविभाजन गरिएको पनि रक्तिमका अध्यक्ष रेम रानाले जानकारी दिनु भएको छ । उहाँका अनुसार प्रदेश नं. १ र २ मा केन्द्रीय कोषाध्यक्ष विष्णु शर्मा र केन्द्रीय सदस्य विशाल पहाडीलाई जिम्मा दिइएको छ । प्रदेश नं. ३ मा सङ्गठनात्मक कार्यका लागि केन्द्रीय सचिव हेमराज आश्रम, केन्द्रीय सदस्य गीता थापा र केन्द्रीय सल्लाहकार मधु क्षेत्रीलाई जिम्मा दिइएको छ । त्यस्तै प्रदेश नं. ४ मा केन्द्रीय अध्यक्ष रेम राना, केन्द्रीय सचिव हेमराज आश्रम, केन्द्रीय सदस्यहरू भरत श्रेष्ठ र दानबहादुर थापालाई जिम्मा दिइएको छ ।
सङ्गठनात्मक आधार केही मजबुत भएको मानिएको प्रदेश नं. ५ मा भने जिल्लागत हिसाबले केन्द्रीय सदस्यहरूलाई जिम्मा दिइएको छ । जस अनुसार अर्घाखाँची र प्युठानमा केन्द्रीय सदस्य विष्णु केसीलाई, रूपन्देही र कपिलवस्तुमा केन्द्रीय सदस्य सीता बस्याल र केन्द्रीय सल्लाहकार लक्ष्मी गुरुङलाई, नवलपरासीमा केन्द्रीय अध्यक्ष रेम रानालाई, गुल्मीमा केन्द्रीय सदस्य उषा थापालाई जिम्मा दिइएको छ । पाल्पा जिल्लाको सङ्गठनात्मक गतिविधि भने केन्द्रीय कार्यालयले हेर्ने बताइएको छ । त्यसैगरी, कर्णाली प्रदेशको जिम्मेवारी केन्द्रीय उपाध्यक्ष मानबहादुर भण्डारी र महासचिव जीवन शाहीलाई दिइएको छ ।
त्यस्तै, सुदुरपश्चिम प्रदेशको जिम्मा भने केन्द्रीय सदस्य बाबुराम आचार्यलाई दिइएको छ । एवं प्रकारले अन्य कतिपय आन्तरिक सङ्गठनात्मक र अन्य विषयमा समेत निर्णय लिइएको दावी रक्तिमका महासचिव जीवन शाहीले गर्नु भएको छ ।








प्रतिक्रिया दिनुहोस्