छिमेकीलाई बिरुवा बाँड्दै विद्यार्थी



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ३, मदनचोकमा रहेको संकल्प शिक्षालयले विद्यार्थीलाई अमलाका बिरुवा वितरण गरेको छ । विद्यार्थीलाई उनीहरुको घरमा बिरुवा रोप्नको लागि प्रेरित गर्नको लागि अमलाका बिरुवा बितरण गरिएको हो । शिक्षालयमा अध्ययनरत विद्यार्थीले आफ्ना छिमेकीलाई समेत बिरुवा प्रदान गर्ने गरेका छन् । शिक्षालयको संयोजनमा उनीहरुले आफ्ना छिमेकीलाई अमलाका बिरुवा वितरण गर्ने व्यवस्था गरेको छ । शिक्षालयले एक कार्यक्रमका बीच विद्यार्थी र अभिभावकहरुको सहभागितामा ३ सय वटा अमलाका बिरुवा वितरण गरेको प्रिन्सिपल विष्णु पोखरेलले जानकारी दिए । उनका अनुसार कोेहलपुर नगरपालिकाले लिएको ग्रीन सिटीको नीति र विद्यार्थीमा प्रयोगात्मक शिक्षाको अभ्यास गर्नले उद्देश्यले प्रति विद्यार्थी २ वटाका दरले वितरण गरिएको हो ।

‘विद्यार्थीले आफ्नो घर आँगनमा बिरुवा रोप्नुपर्नेछ’ उनले भने, ‘विद्यार्थीले बिरुवामा कस्तो हेरचाह गरेको छ भन्ने बारेमा अनुगमन गर्ने छ ।’ प्रिन्सिपल पोखरेलले छिमेकीलाई प्रदान गरिएको बिरुवाको पनि अभिभावकले हेरचाह गर्ने बताए । सोही अनुसार बिद्यार्थीको व्यक्तिगत रुपमा शैक्षिक उपलब्धीको मापन गरिने उनको भनाई छ । त्यसो गर्दा विद्यार्थीमा सानै उमेर देखी नै प्रयोगात्मक प्रवृत्तिको विकास हुने र अभिभावकमा सकारात्मक धारणाको विकास हुने उनको विस्वास छ । शिक्षालयका अभिभावक रेश्मा खानले विद्यालयले आफुहरुलाई विद्यालयमै बोलाएर २ वटा अमलाको बिरुवा शिक्षालयले प्रदान गरेको बताईन् ।

बिरुवा रोप्दा घरको वातावरण समेत हरियाली हुने र अमलाबाट आर्थिक उपार्जन गर्न सकिने उनले बताईन् । अमलामा अत्यधिक मात्रामा भिटामिन ‘सि’ पाईने भएकोले बिरुवा स्वास्थ्यका दृष्टिले लाभदायी मानिन्छ । शिक्षालयकी शिक्षिका राधा केसीले कक्षा कोठामा अध्ययन गरेका बिषयमा विद्यार्थीलाई सम्बन्धित क्षेत्रमै लिएर प्रयोग गर्ने गरिएको बताईन् । कक्षा कोठामा माछाका बिषयमा सिकाउने सोही बिषयमा फिल्डमै लिएर माछाका बिषयमा विद्यार्थीलाई जानकारी गराउने गरिएको उनले जानकारी
दिईन् ।

प्रकाशित मिति : २०७६ साउन ९ गते बिहीबार