1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

कोहलपुरका युवक दाङमा मृत फेला, युवती पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन ४, २०७६  

दाङ ।

दाङको तुलसीपुर स्थित मानसरोवर होटेलमा कोहलपुरका एक युवक मृत अवस्थामा फेला परेका छन् । बाँकेको कोहलपुर निवासी अन्दाजी २७ वर्षिय रमेश हमाल होटेलको कोठामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । हमाल एक युवतीसँगै राति १० बजेतिर होटेलमा बास बस्न भनि आएको होटेल संचालकले जानकारी दिएका छन् । हमालसँगै होटेलमा रुकुमकी एक युवतीपनि पुगेको प्रहरीले जानकारी दिएको छ ।

युवतीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार मृतक हमाल विवाहित हुन् । पक्राउ परेकी युवतीले झन्डै डेढ महिना पहिलेमात्रै मृतक हमालविरूद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा आफूलाई जबरजस्ती करणी गरेको भन्दै मुद्दा समेत हालेकी थिइन् । तर केही समयपछि युवतीले मुद्दा फिर्ता लिएको प्रहरीले बताएको छ । ‘सायद उनीहरूको बाहिर कुरा मिल्यो होला, मुद्दा हालेको केही समयमै युवतीले आफैं मुद्दा फिर्ता लिएको खुल्न आएको छ,’ एसपी पाण्डेले भने ।

रुकुम जिल्ला निवासी विक थरकी युवती र मृतक हमाल बिहीबार राति १० बजेतिर होटलमा बास बसेका होटल सञ्चालक बताउँछन् । युवतीले आफू निदाएको समयमा हमालले डोरीले पासो लगाएर आत्महत्या गरेको भन्ने बयान प्रहरी समक्ष दिएकी छन् । ‘म निदाएको समयमा आवाज सुनेपछि उठेर हेर्दा झुन्डिएको देखेँ। मैले बचाउन अनेक प्रयास गर्दा निकाल्न सकिनँ अनि तत्काल म दौडिएर होटल मालिकलाई बोलाएर ल्याएकी हुँ,’ युवतीको भनाइ उद्धत गर्दै एसपी पाण्डेले भने । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मितिः शनिबार, साउन ४, २०७६     10:33:11 AM  |