बर्दिया ।
बर्दियाको राजापुर हुलाकी राजमार्ग अन्तर्गत राजापुर र कैलालीलाई जोड्ने कर्णाली नदीको सत्तीघाट पुल मर्मत नहुँदा उच्च जोखिममा परेको छ । गत वर्षदेखि नै पुलको राजापुर तर्फको किनारमा ठूलो प्वाल परेपनि सम्बन्धित निकायले ध्यान नदिँदा पुल उच्च जोखिममा परेको
हो । प्रदेशर नम्वर ५ र सुदुरपश्चिम प्रदेशलाई जोड्ने पुलको अन्तिम पिल्लरसँगै बनाइएको ताराजालीसहित तटबन्ध बर्षेनी भाँसिदै गएको राजापुर नगरपालिका १ का प्रभानन्द न्यौपानेले बताए ।
‘कर्णाली नदीले धार परिवर्तन गरी पुलको किनारबाट बग्न सुरु गरेसँगै पुलको किनारमा ठूलो प्वाल परेको देखीन्छ’ उनले भने, ‘पुलको राजापुर तर्फको दुबै किनारमा नदीले तलबाट कटान गरेर ठूला ठूला प्वाल परेका छन् ।’ पुल किनारमा परेका प्वालका कारण सवारी साधनलाई आवातजावतमा समेत समस्या परेको स्थानीयहरु बताउछन् । प्वाल परेको ठाउँमा तारजाली राखिएको छ । पुलको उत्तरतर्फ बनाइएको तटबन्ध भत्किने अवस्थामा पुगेपछि पुल उच्च जोखिममा परेको हो । रसुवा कन्स्ट्रक्सन प्रालिले पाँच वर्षअघि समयवधि भन्दा झण्डैं नौ महिना अगाडि निर्माण सम्पन्न गरेको उक्त पुलको किनारमा ठूला ठूला प्वालहरु परे पनि यसअघि मर्मत गर्दै आएको थियो ।
गत बर्षदेखि निर्माण कम्पनीले मर्मत गर्ने समय सकिएसँगै यस बर्ष पुलमा परेका प्वाल जस्ताका त्यस्तै छन् । स्थानीयका अनुसार पुल निर्माण सम्पन्न भएको एक वर्षपछि नै तारजाली भाँसिन सुरु भएको थियो । वर्षायाम लागेसँगै नदीमा पानीको सतह बढ्न थालेपछि तारजाली भाँसिने गरेको स्थानीय तथा बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार रेग्मीले बताए ।
‘नदीमा पानीको सतह बढेसँगै पुलको किनारको तारजाली भाँसिदै गएको छ’ उनले भने,‘गत बर्षसम्म निर्माण कम्पनीले तारजाली भर्दै आए पनि यस वर्ष कसैले ध्यान नदिएका कारण पुल जोखिममा परेको हो ।’ नदीमा पुल निर्माण गर्दा बीचमा बनाइएका डाइभर्सनले नदीले धार परिवर्तन गरिएका कारण वर्षेनी पुल जोखिममा पर्दै गइरहेको बताइन्छ । स्थानीयले पुलको संरक्षणका लागि नदीको बीचमा बनेका साना टापुहरु सफा गर्नुपर्ने माग गर्दै आइरहेका छन् । कर्णाली चिसापानी पुलभन्दा तल कर्णाली नदीको बीचमा सयौंको संख्यामा टापुहरु रहेका छन् ।
‘नदी किनारको तटबन्धको तारजाली भासिँदै गएका कारण पुल नै जोखिममा परेको छ’ बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष रेग्मीले भने,‘जोखिममा परेको पुललाई स्थानिय सरकार प्रदेश सरकार संघीय सरकारले मर्मत गर्नुपर्ने हो, खै किन हो उसले ध्यान दिएको छैन ।’ पुलको संरक्षणका लागि राजापुर नगरपालिकासँग आफुहरुले समन्वय गरिने उनले बताए ।
यहाँ पक्की पुल बनेसँगै सुदुरपश्चिम प्रदेश प्रवेश गर्ने कर्णाली पुलको विकल्पको रुपमा यसलाई लिने गरिन्छ । हुलाकी राजमार्गमा पर्ने यो पुल बनेसँगै बर्दियाको राजापुर र कैलालीको टिकापुर जोडिएको छ । यो पुल भएर दैनिक सयौको संख्यामा सवारी साधनहरु आवतजावत गर्ने गर्दछन् ।









प्रतिक्रिया दिनुहोस्