चित्रकला प्रदर्शनी र स्वास्थ्य परामर्श कार्यक्रम



कोहलपुर ।

मन्टेश्वरी एशोसियसन बाँकेद्वारा आयोजित बाल चित्रकला लेखन तथा प्रदर्शनी शनिबार सम्पन्न भएको छ । उक्त प्रदर्शनीमा मन्टेश्वरी एशोसियसन बाँकेमा आवद्ध बाँके जिल्लाका ११ वटा मन्टेश्वरी स्कुलका करीब ४२ जना बालबालिकाहरुले भाग लिएको थिए । सहभागी बालबालिकालाई प्रशंसा पत्र तथा टफी वितरण गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले बालबालिकाहरु अन्तरनिहीत प्रतिभालाई प्रष्फुटन गर्ने काम र व्यवहारिक शिक्षा र ज्ञान दिने जस्तो महत्वपूर्ण जिम्मेवारी मन्टेश्वरी एशोसियसन बाँकेले गरेकोमा सराहना गरे ।

डा. राणाले मन्टेश्वरी विधिको शिक्षा बालबालिकाका लागि एकदमै प्रभावकारी हुने समेत बताए । कार्यक्रममा मन्टेश्वरी एशोसियसन बाँकेका सल्लाहकार वरिष्ठ पत्रकार पूर्णलाल चुके, समाजसेवी डिला शाह, बासका अध्यक्ष रमेश सिटौला लगायतले सहभागी बालबालिकालाई प्रशंसा पत्र तथा टफी वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव प्रभा थापाले गरेकी थिइन् भने कार्यक्रमको उद्देश्यमाथी कोषाध्यक्ष खिमा थापाले तथा उपाध्यक्ष दुर्गा बजगाइँले स्वागत मन्तव्य राखेका थिए । यसअघि गत साता एशोसियशनले एशोसियशनमा आवद्धता भएका मन्टेश्वरी स्कुलका बालबालिका तथा उनीहरुका अभिभावकहरुका लागि स्वास्थ्य सम्बन्धि परामर्श कार्यक्रम सम्पन्न गरेको थियो ।

नेपालगन्ज मेडिकल कलेजका बाल विशेषज्ञ डा. शकिल अहमदले स्वास्थ्य सम्बन्धि सचेतनामूलक तथा जानकारीमूलक परामर्श दिएका थिए । उक्त कार्यक्रममा डा. अहमदले हाल बजारमा पाइने जङ्क फुड, इलेक्ट्रोनिक सामान जस्तै मोवाइल तथा टेलिभिजनले बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको कुरामा जोड दिए । कार्यक्रममा अभिभावक र डाक्टर वीच छलफल तथा अन्तरक्रिया पनि गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ असार २२ गते आइतबार