कार्यालय सहयोगीको भरमा सुत्केरी



खड्क सुनार । मुगु ।

मुगु जिल्लाको एक स्वास्थ्य चौकिमा एक कार्यालय सहयोगी महिलाले सुत्केरी गराउदै आएकी छन् । छायाँनाथ रारा नगरपालीका वडा नं ७ मा रहेको पिना स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी पदमकला नेपालीले स्वास्थ्य चौकिमा सुत्केरी हुन आएका गर्भवती महिलालाई सुत्केरी गराउदै आएकी हुन् । २०६९ साल देखि वर्थिङ्ग सेन्टर स्थापनासँगै कार्यालय सहयोगीमा भर्ना भएकी नेपालीले बिना तालिम, पढाई लेखाई पनी छैन् तर अनुभवका आधारमा सुत्केरी गराउदै आएको स्विकार गरेकी छन् ।

‘गर्भवती महिलालाई सुत्केरी गराउन स्वास्थ्य चौकि ल्याउछन्’ उनले भनिन्, ‘त्यो बेला स्वास्थ्यकमी हुदैन बाध्य भएर अनुभवको आधारमा सुत्केरी गराउदै आएको छु ।’ मेरो काम सरसफाई गर्ने हो सुत्केरी गराउने होईन भन्ने गरेको भएपनी स्थानीयले सुत्केरी गराउन दवाब दिने गरेको उनको भनाई छ । चालु आर्थिक बर्ष २०७५÷७६ मा ७१ जना जना गर्भवती महिला स्वास्थ्य चौकिमा आई सुत्केरी भएको पिना स्वास्थ्य चौकिले जनाएको छ । त्यसमध्ये एक दर्जन भन्दा बढी गर्भवती महिलालाई एक्लै सुत्केरी गराएको र बाँकी गर्भवतीलाई स्वास्थ्यकर्मीलाई खबर गरी सुत्केरी गराएको नेपालीको भनाई छ ।

सुत्केरी गराउन स्वास्थ्य संस्थामा लिदा स्वास्थ्यकर्मी नहुने हुदाँ बाध्य भएर कार्यालय सहयोगी भएपनी बिश्वासका साथ सुत्केरी गराउन दिने गरेका छन् । विहिबार सम्म सुत्केरी गराएका महिलामा अप्रिय घटना नघट्ेको र राम्रो भएको वडा नं ७ कि स्थानीय महिला माया नेपालीले बताईन् । चौकीमा एक जना भर्खरै काजमा ल्याईएकी अनमी छन् ।

उनको घर टाढा भएर पनी राती आउने गर्भवती महिला लाई कार्यालय सहयोगीले सुत्केरी गराउदै आएको ईन्चार्ज सेजुवालको भनाई छ । ‘जटिल बिरामी आएमा मलाई फोन गरेर बोलाउनुहुन्छ’ उनले भने,‘ कहिले काही फोन नलागेमा र नर्मल केश आएमा एक्लै भएपनी कार्यालय सहयोगीले सुत्केरी गराउदै आउनुभएको छ ।’ पिना वर्थिङ्ग सेन्टरमा कर्मचारी छैनन् भन्ने कुरा छायाँनाथ रारा नगरपालिकाको स्वास्थ्य फाँटमा जानकारी गराएको भएपनी सुनुवाई नभएको वडा नं ७ का अध्यक्ष हरि चन्द्र शाहीले बताए ।

उनका अनुसार कार्यालय सहयोगीले सरसफाई गर्ने भएपनि कर्मचारी अभाव भएका कारण उनैले सुत्केरी गराउदै आएकी छन् । यता जिल्ला स्वास्थ्य कार्यालय मुगुका डाक्टर सुरज गुरौले स्वास्थ्य चौकीको यस्तो समस्या बारे कार्यालयमा जानकारी नआएको बताए ।

प्रकाशित मिति : २०७६ असार २० गते शुक्रबार