कोहलपुर ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जुम्लाका मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपाने बिरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । न्यौपानेले ५९० रोपनी सरकारी जग्गा श्रीमती, छोरी र नातागोताको नाममा पास गराएको भन्दै अख्तियारले उनीहरु समेतलाई विपक्षी बनाएर अख्तियारले मुद्दा दायर गरेको हो ।
यसअघि जुम्ला गुठीचौरस्थित भेंडा बाख्रा फारमको नाममा रहेको ५९० रोपनी जग्गा परिवारको नाममा नामसारी गर्ने मालपोत अधिकृतसहित १६ जना विरुद्ध भष्टाचार मुद्दा दायर गरेको थियो । हाल सेवा निवृत्त जुम्लाको गुठीचौर गाउँपालिका ४ बाउलीगाउँका न्यौपानेले सेवामा रहँदा २०६६ सालमा गुठीचौरस्थित राष्ट्रिय भेडाबाख्रा अनुसन्धान कार्यक्रमको ५९० रोपनी जग्गा आफन्तको नाममा नामसारी गरेको खुलेको थियो । उनीकी पत्नी गोमा, छोरी पार्वती र १४ जना आफन्तका नाममा दर्ता गराएको अख्यिारको अनुसन्धानमा खुलेपछि उनीहरु विरुद्ध विशेष अदालतका मुद्दा दायर गरेको हो ।
साविक गुठिचौर गाविस ६ को कित्ता नम्बर ३ मा भेडाबाख्रा फार्मको नाममा ६ लाख २१ हजार ५२५ वर्ग मिटर जग्गा फिल्डबुकमा कायम थियो। त्यसैमध्येको ९५९० रोपनी जग्गा न्यौपानेले निजी बनाएका थिए । मालपोत अधिकृत रहँदा न्यौपानेले गरेको बदमासी प्रमुख जिल्ला अधिकारी भएर जुम्ला आएपछि रुद्रप्रसाद पण्डितले पत्ता लगाएका थिए । भूमि सम्बन्धी ऐन २०२१ ले पहाडी जिल्लामा खेतीपातीको लागि ७५ रोपनी र घरबासका लागि ५ रोपनीसमेत गरी ८० रोपनीभन्दा बढी जग्गा राख्न नपाउने व्यवस्था छ । उनले राजश्व छली गर्ने उद्देश्यले गुठीचौरको सरकारी जग्गा १४ जनाको नाममा सिधै दर्ता गराएको देखिएको थियो ।
प्रतिवेदन अनुसार न्यौपानेले १४ जनामध्ये सबैभन्दा धेरै ३५ हजार १५० वर्गमिटर जग्गा श्रीमती गोमा र त्यसपछि ३४ हजार ८५० वर्गमिटर छोरी पार्वतीको नाममा दर्ता गराएछन् । आफन्तमध्ये एक जनाका नाममा ३३ हजार वर्गमिटर, अर्का एक जनालाई ३२ हजार ३३५ वर्गमिटर र ६ जनाको नाममा २० हजार वर्गमिटर जग्गा दर्ता गराएका थिए । त्यस्तै, विष्णुऋषि न्यौपानेको नाममा २० हजार, घनप्रसाद न्यौपानेको नाममा २० हजार, कविदत्त न्यौपानेको २० हजार, विष्णुलाल न्यौपाने २० हजार, हरिहर न्यौपाने १५ हजार वर्गमिटर जग्गा बनाएका थिए ।
त्यस्तै आफन्तहरु देवेन्द्र प्रसाद उपाध्यायको नाममा १३ हजार ३ सय ३० वर्गमिटर र जानकीदत्त देवकोटाकाको नाममा गरेका थिए । एक जनालाई १३ हजार ३ सय ३५ वर्गमटर, एक जनालाई १३ हजार ३३० वर्गमिटर र एक जनालाई २ हजार वर्गमिटर दर्ता गराइदिएका थिए । उनले गोमा न्यौपानेको नाममा ३५ हजार १५०, पार्वती न्यौपानेको नाममा ३४ हजार ८५०, विष्णु न्यौपानेको नाममा ३३ हजार, विजय न्यौपानेको नाममा ३२ हजार ३ सय ३५ मयलाल न्यौपानेको नाममा २ हजार वर्गमिटर जग्गा आफू अधिकृत भएको समयमा उनले पास गराएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । अख्तियारले सबै जग्गाधरीहरुलाई समेत विपक्षी बनाउँदै भ्रष्टाचार मु्द्दामा जनही १० वर्षसम्म कैद र जग्गाको मूल्य बराबर बिगो र जरिवाना गराउन माग गरेको छ ।