धम्बोझी क्लबलाई जिल्ला लिगको उपाधी



नेपालगञ्ज ।

जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधी धम्बोझी क्लव, नेपालगञ्जले जितेको छ । नेपालगञ्जको चर्चित क्लवमा गनिने धम्बोझीले मोडेल टीम, सीगाउँलाई २–० गोलले पराजित गर्दै उपाधी जितेको हो । उपाधी जितेसँगै धम्बोझी क्लवले कप, मेडल र २१ हजार रुपैया हात पारेको छ । उपविजेता मोडेलले कप, मेडल र ११ हजार पुरस्कार पाएको छ ।

प्रतिस्पर्धात्मक खेलमा विशाल थापाले १९ र व्यापकराज शाहीले ७६ मिनेटमा गोल गरेपछि धम्बोझीले बाजी मारेको हो । उता मोडेलकले आक्रमण नै गर्न सकेन । धम्बोझीका डिफेन्डर प्रवीण सुनार मोडेलका लागि ‘तगारो’ नै बनेका थिए । मोडेलले प्रवीणलाई नै पार गर्न सकेनन् । प्रवीण प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि चुनिए । धम्बोझीका लागि ५ नम्बर प्रदेशकै किपर प्रितम खड्काले पोष्ट सम्हालेका थिए । मोडेलका खेलाडीले उनलाई ‘व्यस्त’ बनाउनै सकेनन् ।

प्रतियोगिताका विजेता, उपविजेतालाई एसएसपी डा. देवबहादुर बोहरा, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष प्रमोद रिजाल, प्रदेश लिगका संयोजक भुपेन्द्र थापा, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, पत्रकारद्वय रुद्र सुवेदी र कमल खत्रीलगायतले मेडल, कप र नगद पुरस्कार वितरण गरेका थिए । समापन समारोहमा बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष नगिना श्रेष्ठ, महासचिव गोविन्द श्रेष्ठ, कोषाध्यक्ष वीरेन्द्र श्रेष्ठ, प्रदेश ५ का फुटबल प्रशिक्षक जनक केसीलगायतको उपस्थिति थियो ।

जिल्ला लिगमा ११ वटा क्लवले प्रतिस्पर्धा गरेका थिए । समापनमा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता रिजालले ‘रंगशाला’मा फुटबल हुन नसकेकोमा दुःख व्यक्त गरेका थिए । आठौं राष्ट्रिय खेलकुदका लागि रंगशालाको मैदानमा बर्मुडा घाँस रोपिएकोमा त्यसको रेखदेख हुँदै गरेको भन्दै त्यहाँ फुटबल खेल्न दिइएको छैन ।

  • No tags available
प्रकाशित मिति : २०७६ असार २ गते सोमबार