नेपालगन्ज ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एनपी साउदले ‘अधिनायकवाद’ विरुद्ध जनताको मुद्दा बोकेर आफुहरु सडकमा आएको बताएका छन् । जनताको साथले मात्र अधिनायकवादलाई परास्त गर्न सम्भव भएको उनको भनाई रहेको थियो । शनिबार नेपालगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै पुर्वमन्त्री साउदले अधिनायकवाद विरुद्धको संघर्षलाई अब जतिठुलो आँधी आएपनि नरोक्ने चेतावनी दिए ।
‘वर्तमान सरकारले जनतामाथी गरेको अन्यायविरुद्ध हामी सडकमा आएका हौं,’ उनले भने ‘हामीलाई विश्वास छ, जनताको साथ पक्कै पाउनेछौं ।’ कम्युनिष्ट सरकारको पालामा यतिबेला अराजकता, भ्रष्टाचार, अशान्ति फैलिएको र कर मात्रै थप्ने गरेको हुँदा जनता कत्तिपनि सन्तुष्ट हुन नसकेको उनले बताए । दुई तिहाईको कम्युनिष्ट सरकारले शान्ति र समृद्धि कायम गर्ने जनतामा आशा पलाएपनि अहिले निराश बनेको पुर्वमन्त्री साउदको भनाई थियो । ‘जनताको माझ स्थिर सरकारको नारा लगाएका थिए, तर भित्री सहमती अनुसार स्थिर सरकार रहेनछ, प्रचण्ड र केपी ओलीबीच ढाई÷ढाई वर्षमा प्रधानमन्त्री चलाउने सहमती भएको कुरा बाहिर आईसकेको छ,’ साउदले भने ।
वर्तमान सरकार आन्तरिक कलहमा रुमलिएको उनले बताए । अर्को प्रसंगमा उनले प्रधानमन्त्री ओलीले सबै अधिकार आफ्नो हातमा लिएर ‘बाहुबली’ देखाएको आरोप लगाए । ‘प्रधानमन्त्री ओलीले सेनाको मनोबल गिराउने काम गरेका छन्, प्रहरी प्रशासनले आफ्नो विवेकले काम गर्न पाएका छैनन्, निजामती कर्मचारी पनि सन्तुष्ट छैनन्, हरेक क्षेत्रमा बाहुबली चलेको छ,’ उनले थपे । सभा हुनुअघि नेपालगन्जमा उपमहानगर क्षेत्रमा बृहत प्रर्दशन गरिएको थियो । नेपाली कांग्रेस बाँकेको कार्यालयबाट सुरु भएको प्रर्दशन विपी चोक हुदै त्रिभुवन चोक पुर्वमा पुगेर सभामा परिणत भएको थियो ।
सभालाई नेपाली कांग्रेस बाँकेका सभापति किरण कोईराला, पुर्वसभापतिद्धय युवराज शर्मा र कृष्णमान श्रेष्ठ, प्रदेश पाँचका सांसदद्धय सुरेन्द्र हमाल र मोहम्मद याकुव अन्सारी लगायतले सम्बोधन गर्दै सरकारले ‘अधिनायकवाद’ लादेर स्वतन्त्र प्रेस, राष्ट्रिय मानव अधिकार आयोग, नेपाली सेना, प्रहरी, निजामति कर्मचारी लगायत निकायमा हस्तक्षेप गरेको आरोप लगाएका थिए ।