
विषय प्रवेश
केहि समय अघि एउटा अनुसन्धानको सिलसिलामा बर्दिया गएकी थिएँ । अनुसन्धानको विशेष चासो थियो–विद्यालयमा बालिकाहरुको पहुँच के–कस्तो रहेछ रु विद्यालयको भौतिक वातावरणले बालिकाहरुलाई विद्यालयमा टिकाई राख्न वा नियमित हुन कत्तिको सहयोगी रहेछ ? त्यसै गरी विद्यालयको शैक्षिक वातावरण साथै कक्षाकोठाको शिक्षण–सिकाई क्रियाकलाप बालिकाहरुको लागि कत्तिको आकर्षक र प्रेरणादायी रहेछ, जसले बालिकाहरुको सहभागितालाई यथोचित रुपमा बढोत्तरी गर्दछ ? साथै विद्यालयको नीति–नियम बालिकाहरुका लागि सकारात्मक रुपमा शिक्षा आर्जन गर्न कत्तिको उपयोगी छ ? साथै बालिकाहरुलाई विद्यालयमा टिकाई राख्न, प्रभावकारी गुणस्तरीय शिक्षा प्रदान गरी आफ्ना समकक्षी बालक, छात्रहरुसंग बराबरीको प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गर्न के गर्नु पर्ला आदि–इत्यादि धेरै कुराहरु थिए ।
त्यहाँ बसाईको दौरानमा, त्यस जिल्लाका विभिन्न सामुदायिक विद्यालयहरुको सामाजिक, भौतिक तथा शैक्षिक वातावरणको अवलोकन गर्नुका साथै ती विद्यालयहरुसंग प्रत्यक्ष–परोक्ष रुपमा सरोकार राख्ने समुदायका व्यक्तिहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक, विद्यार्थी–छात्र–छात्रहरु, प्रधानाध्यापकहरु आदिसंग औपचारिक–अनौपचारिक कुराकानीबाट त्यहाँका मानिसहरुको अवधारणा, सोच, समाजको रहन–सहन, मूल्य–मान्यता आदि समेट्न र जानकारी लिन सकियो । प्राप्त जानकारीलाई छोटकरीमा भन्नु पर्दा अझ पनि घर–परिवार, विद्यालय, समुदायमा लैङ्गिक सचेतनाको कमी, लैङ्गिक विभेदलाई सामान्य रुढिवद्ध छोरा–छोरीको भूमिका आदिले जरो गाडेर बसेको देखियो ।
जस्तैः–
– छोरालाई बोर्डिङ्गमा पढाउने छोरीलाई सामुदायिक विद्यालयमा पढाउने ।
– छोरीलाई धेरै किन पढाउने, अर्काको घर जाने जात ।
– भागेर विहे गरी दिए पढाउन पनि पर्ने थिएन, खर्च लगाएर विहे गरी दिनु पर्ने पनि थिएन ।
– शिक्षकहरुले नै छात्राले गणित विषय लिएर किन पढ्ने, फेल भई भने हामी सक्दैनौं भनि अभिभावकलाई भनि अर्थशास्त्र लिन बाध्य गराउने ।
– छोरालाई टिफिन खान पैसा दिने, छोरीले पैसा माग्दा गाली गर्ने, छोराले त पछि पाल्छ भन्ने ।-
विद्यालयको युनिफर्म जुत्ता किन्न छात्र आपैmले ज्यामी काम गरी पैसा जुटाउनु पर्ने बाध्यता, किनभने बा–आमा कमाउन परदेश गएका छन् ।
– माथिल्लो कक्षा पुग्दै जाँदा विद्यालय छाड्ने ।
– घरमा काम प¥यो, भाई–बहिनी हेरचाह गर्नु प¥यो, विद्यालय नजाने ।
– विद्यालय जाँदा बाटो तिर छात्राहरुलाई जिस्क्याउने, अपशब्द भन्ने वा हातपात गर्न खोज्ने ।
– विद्यालय पढ्दा पढ्दै, उमेरै नपुगी छात्राहरु÷छोरीको विहे गरी दिने ।
यी केही उदाहरणहरु मात्र हुन्, जसले गर्दा बालिकाको विद्यालयमा पहुँच, सहभागिता, भूमिका तथा शिक्षा आर्जन, विद्यालय शिक्षा पुरा गर्न तथा पछि पेशा रोजाई आदिमा प्रत्यक्ष असर पर्दछ । जसलाई धेरै अनुसन्धानहरुले पनि देखाइसकेका
छन् । हामी अहिले एक्काईसौं शताब्दीमा छौं तैपनि हाम्रो अधिकांश समाजमा परम्परागत सोंच नै व्याप्त छ ।
अन्तर्राष्ट्रिय अभिसन्धि आदिले मनन गरे अनुसार लैङ्गिक समानता सबै मानव समुदायका लागि आधारभूत मानव अधिकार हो । शैक्षिक विश्व मञ्च “सबैका लागि शिक्षा” (१९९०) तथा सहशताब्दी विकास लक्ष्यहरु (२०००) जस्ता अन्तर्राष्ट्रिय स्तरमा गरिएका प्रतिबद्धताले पनि प्राथमिक सूचीमा लैङ्गिक समानता सन् २०१५ सम्म प्राप्त गर्ने सीमा तोकेको छ । जस अनुरुप सबै जसो संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरुले बालिका तथा सीमान्तकृत बाल–बालिकाहरुको शिक्षा र जीवन स्तर उकास्न द्रुततर रुपमा विभिन्न प्रयास भैरहेको कुरा सर्व विदितै छ । नेपालमा पनि सरकार तथा गैह्रसरकारी संघ–संस्थाहरुले यस सम्बन्धमा गरेका प्रयासहरुलाई सह्रानीय नै मान्न पर्छ । तर पहिले भन्दा धेरै नै सकारात्मक परिवर्तन समाजमा देखा परे पनि मनग्ये भयो भन्न मिल्दैन ।
तसर्थ अहिलेको अन्तर्राष्ट्रियकरण, भौगोलिकीकरण तथा संसार नै सूचना तथा प्रविधि संजालले गर्दा नजिकींदो अवस्थामा हाम्रो पनि समाजको रुपान्तरण आवश्यक छ, जसलाई लैङ्गिक उत्तरदायी शिक्षण–सिकाई तथा लैङ्गिक उत्तरदायी विद्यालय स्थापना गरी लैङ्गिक उत्तरदायी समाज बनाउन सकिन्छ । किनभने लैङ्गिक उत्तरदायी विद्यालयबाट नै लैङ्गिक समानतालाई सम्बोधन गर्न सकिन्छ । यसरी लैङ्गिक समानताले सामाजिक रुपान्तरणमा ठूलो भूमिका खेल्दछ, जुन नेपाल जस्तो बहुभाषिक, बहुसाँस्कृतिक तथा कठिन भैगोलिक स्वरुप भएको देशमा अपरिहार्य छ ।
सामाजिक लैङ्गिकता के हो ?
सामाजिक रुपमा निर्धारण गरिएको महिला र पुरुषको भूमिका तथा सम्बन्धलाई नै सामाजिक लिङ्ग भनिन्छ । त्यसकारण सामाजिक लैङ्गिकता भनेको सामजिक, साँस्कृतिक रुपमा महिला र पुरुषको वर्गीकरण हो, जसमा सामजिक मूल्य–मान्यतालाई महिला र पुरुषले अंगिकार गरी त्यस अनुरुप नै आपूmलाई समाजमा प्रस्तुत गरेका हुन्छन् । जब कि जैविक लिङ्ग अनुसार महिला र पुरुषको भूमिका विशुद्ध प्राकृतिक, जैविक तथा ईश्वरीय देन हो, यो सहजै परिवर्तन गर्न सकिंदैन । जस्तैः महिला र पुरुषको शारीरिक विकास भिन्न–भिन्न छ भने महिलाले बच्चा जन्माउने जस्ता कुरा जैविक, प्राकृतिक हुन् ।
समाजका विभिन्न तह तथा संरचानामा लैङ्गिकतालाई समाजले नै निर्माण र अुनमोदन गरेको हुन्छ । ती विभिन्न तह र संरचनामा घर–परिवार, समुदाय, विद्यालय, धर्म–संस्कृति, राज्य तथा संचार माध्यम आदि पर्छन् । घर परिवारबाट नै बाल–बालिकाले निर्वाह गर्नु पर्ने भूमिका, हक–अधिकार तथा सुविधा पाउनु आदि सानै देखि प्रायः निश्चित हुन्छ, अनि पछिसम्म यसको प्रभाव केटा–केटीमा पर्दछ । हुन त यस्ता लैङ्गिक विभेद अवस्था र भोगाई परिवारको संरचना, सामाजिक वर्ग, जाति–समुदाय, भौगोलिक परिवेश, शिक्षा, राजनीति तथा ब्यक्तिगत सोचका कारण फरक–फरक हुन सक्छ । तर सामान्य समाजको सोचाई केही मात्रामा समान नै पाईन्छ । जस्तैः कुनै ज्वाईंले आफ्नो छोरीलाई धेरै नै माया गर्ने, प्रजातान्त्रिक–सकारात्मक सोंच राखी हरेक क्षेत्रमा समान व्यवहार राख्ने, अघि बढ्न उत्साहित गर्ने, घरेलु काममा पनि बिना भेदभाव सघाउँछन् भने ती छोरीका बा–आमा अति खुशी भई असल ज्वाईं पाएकोमा गुणगान गाउन पछि पर्दैनन् तर त्यही सद्भाव त्यही बा–आमाका छोराले बुहारी प्रति देखाउँछन् भने त्यही बा–आमा दुखी हुने छोरा बुहारीको मात्र भयो, उसको मात्र कुरा सुन्छ, उसलाई मात्र माया गर्छ आदि–आदि भनि बुहारी प्रति वैरभाव राख्ने तमाम बा–आमा नेपाली समाजमा अवश्य छन् होलान् । भन्नुको अर्थ के हो भने घर–परिवारमा नै छोरी–बुहारी दुवै महिला भएतापनि नाता सम्बन्धको कारण विभेद छँदैछ भने छोरा र छोरीमा गरिने विभेद त सानै देखि हुने विस्तृत समाजमा प्रशस्त नहोला भन्न सकिंदैन ।
समुदायमा पनि समाजद्धारा किटान गरिएका विभेदयुक्त भूमिका, हक र सुविधा महिला र पुरुषका लागि गरिएको हुन्छ र त्यही अनुरुप क्रियाकलाप र सहभागितामा धेरैको अपेक्षा हुन्छ । विद्यालयमा पनि बाल–बालिका प्रति शिक्षकको व्यवहार, विद्यालय व्यवस्थापन तरीका तथा पाठ्यक्रम आदिले पनि रुढिबद्ध लैङ्गिकतालाई प्रायः प्रश्रय दिने गरेको पाईन्छ । तर सन् १९९० को दशक यता केही मात्रामा सुधार भएको देखिन्छ, समग्रमा रुपान्तरण गर्न अझ धेरै प्रयास र समयको आवश्यकता देखिन्छ ।
पितृसतात्मक समाजलाई प्रश्रय दिएकोले नै महिलालाई पुरुषको अधीनस्थ राखेको कारणले प्रायः सबै जसो धर्ममा महिलाको स्थान पुरुष पछि नै आउँछ र महिला प्रायः अन्र्तमुखी र आफ्ना कुरा अगाडि ल्याउन संकोच मान्ने स्वभावका हुन्छन् । केही सुधार भएतापनि राज्य संरचनामा पनि महिलाको सहभागिता न्यून हुनु, नीति–नियम, योजना, कार्यक्रम आदिले लैङ्गिक संवेदनशीलतालाई गौण रुपमा दृष्टि नपु¥याउनु हो । आजभोलि संचार माध्यमको ठूलो भूमिका छ, जसले सकारात्मक तथा नकारात्मक दुवै तरीकाले लैङ्गिकतालाई प्रस्तुत गर्न सक्दछ । महिला र पुरुषको रुढिबद्ध लैङ्गिकता, लैङ्गिक असमानता÷समानतालाई बल दिने कार्य गर्न सक्छ, यो एउटा सशक्त माध्यम हो । यसलाई सकारात्मक रुपमा प्रयोग गरियो भने लैङ्गिक समानता ल्याउन सकिन्छ । यसरी यी माथी उल्लेख गरिएका विभिन्न तह र संरचनाले महिलाको स्तर पुरुषको भन्दा सामाजिक, साँस्कृतिक तथा राजनीतिक रुपले निम्न बनाउँछन् र प्रत्यक्ष वा परोक्ष रुपमा सहयोगीको भूमिका खेल्छन् ।
तसर्थ विद्यालय एउटा सशक्त सामाजिक संस्था हो, जसले लैलिङ्गक उत्तरदायी शिक्षण–सिकाई क्रियाकलाप लागू गरी समाजमा लैङ्गिक चेतना तथा लैङ्गिक संवेदनशीलतालाई जोड दिन तथा लैङ्गिक समता अनि लैङ्गिक समानता स्थापना गराउन मद्दत गर्न सक्दछ ।
लैङ्गिक उत्तरदायी विद्यालय
विद्यालयको शैक्षिक, सामाजिक तथा भौतिक वातावरण तथा विद्यालय वरपरको समुदायले बाल–बालिका दुवैको विशेष आवश्यकताहरु बोध गरी त्यस अनुरुप शिक्षा दिने कार्य गर्दछ भने त्यस विद्यालयलाई लैङ्गिक उत्तरदायी विद्यालय भन्न सकिन्छ । अर्थात विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, सरोकारवाला समुदाय आदि सबै व्यक्तिहरु लैङ्गिक समानता प्रति सचेत छन् र त्यस अनुरुप व्यवहार गर्दछन् भने, साथै विद्यालयको नीति–नियम, प्रशासन प्रणाली, विद्यालय संरचना बाल–बालिकाको लैङ्गिकता तथा जैविक लिङ्गका आधारमा चाहिने आवश्यकता सम्बोधन गर्न हरसम्भव प्रयास गर्ने विद्यालयलाई लैङ्गिक उत्तरदायी विद्यालय भन्न सकिन्छ । अझ भनौ, विद्यालयको शिक्षण–सिकाई विधि, शिक्षण सामाग्री, कक्षाकोठामा अन्र्तक्रिया, शैक्षिक व्यवस्थापन आदि सबैमा लैङ्गिक उत्तरदायीत्वलाई प्रतिविम्बित गर्नु नै लैङ्गिक उत्तरदायी विद्यालयको जिम्मेवारी हो ।
विद्यालयमा छात्र–छात्रा दुवैलाई लैङ्गिक समानताको अभ्यास गर्न मानव अधिकार तथा प्रजातान्त्रिक मान्यताको अभ्यास गर्न सशक्त बनाउनु नै लैङ्गिक उत्तरदायी विद्यालयको मुख्य भूमिका रहन जान्छ । त्यसकारण विद्यालयको भौतिक वातावरण जस्तै विद्यालय भवन, कक्षाकोठा, फर्निचर तथा अन्य आवश्यक सबै सामाग्री नै लैङ्गिकता मैत्री हुनु पर्दछ । तसर्थ लैङ्गिकता उत्तरदायी विद्यालय बनाउनका लागि समग्र विद्यालय पद्धति नै जोड दिनु पर्दछ । जसमा निम्न कुराहरु समेट्नु पर्दछः–
” अभिभावक, समुदायका व्यक्तिहरु, शिक्षक विद्यार्थी छात्र–छात्रा लैङ्गिक सचेतना गराई बालिका शिक्षाको आवश्यकता बोध गराउने ।
” शिक्षकहरुको शिक्षण क्रियाकलापमा लैङ्गिक उत्तरदायीत्व विकास गराउन, त्यस सम्बन्धि तालिम दिने जसले गर्दा कक्षा शिक्षणमा छात्र–छात्राको विशेष आवश्यकता पहिचान गरी सम्बोधन गर्न सक्छन् ।
” बालिकाहरुलाई आत्म–विश्वास बढाउने, आपूmलाई ठीक लागेको कुरा ठोकेर भन्न सक्ने, निर्णय लिन सक्ने, आफ्ना समस्याहरु निर्धक्कसंग व्यक्त गर्न सक्ने, विभेद विरुद्ध आवाज उठाउन सक्ने आदि सीपको विकास गरी सशक्त बनाउने ।
” बालकहरुमा पनि आत्म–विश्वास बढाउनुका साथै लैङ्गिक विभेदजन्य अभ्यास नगर्न, अर्कालाई थिचो–मिचो गर्ने प्रवृत्ति हटाउन, जिस्क्याउने, हेप्ने तथा आफ्नो प्रभुत्व जमाउने जस्ता बानी–व्यवहार हटाउने र सकारात्मक लैङ्गिक समानतालाई आत्मसात् गर्ने सीपको विकास गराउने ।
” विद्यालय समुदायमा प्रजनन स्वास्थ्य तथा एच.आई.भि.एड्स र अन्य यौनजन्य रोग आदि बारे चेतना जगाउन तालिम दिने तथा जानकारी गराउने ।
” शिक्षक तथा विद्यार्थीहरुलाई निर्देशन र परामर्श सम्बन्धि उचित सीप प्रदान गर्न तालिम दिने । विद्यालयमा विद्यार्थीहरुका लािग परामर्श दिनका लागि एउटा छुट्टै एकाई स्थापना गरियो भने छात्र–छात्राहरुको सामाजिक तथा मनोवैज्ञानिक विकासमा सहयोग पु¥याउन सकिन्छ ।
” छात्र–छात्राको आवश्यकता पहिचान गरी विद्यालयमा छात्रवृत्ति तथा अन्य आवश्यक सहयोग गरियो भने विद्यार्थीहरुको असमय मै विद्यालय छाड्ने प्रवृत्ति कम गर्न सकिन्छ ।
” लैङ्गिक मैत्री सुविधा विद्यालयमा उपलब्ध गराउन आवश्यकता अनुसार छात्र–छात्रालाई छात्रावास सुविधा, पर्याप्त तथा छुट्टा–छुट्टै शौचालयको व्यवस्था, पर्याप्त खानेपानी तथा विशेष गरी छात्रा मैत्री शौचालयको यथोचित व्यवस्था गर्ने ।
” विज्ञान, गणित तथा अन्य प्राविधिक विषयहरुमा छात्राको सहभागिता बढाउने किसिमका क्रियाकलाप गराउने ।
” विद्यालय व्यवस्थापनमा महिला सहभागिता बढाउने ।
” लैङ्गिकता सम्बन्धि तालिम सबै सरोकारवालालाई दिने जसले गर्दा सबैमा बालिका शिक्षा प्रति जागरण आउन सक्छ ।
” समुदायका सरोकारवालालाई उत्तरदायी रुपमा विद्यालय अनुगमन गर्ने चेतना, छात्राहरुको विद्यालय पहुँच, उपस्थिति तथा शैक्षिक उपलब्धि बारे चनाखो हुने, सरोकार राख्ने, विद्यालयको चौतर्फी विकास बारे चासो राख्ने र आवश्यकता अनुरुप मद्दत गर्ने जस्ता कार्य गर्न अग्रसर बनाउने ।
यसरी विद्यालयलाई समग्रमा लैङ्गिक उत्तरदायी बनाउन लैङ्गिक उत्तरदायी शिक्षण विधि आवश्यक छ । जस अन्तर्गत छात्र–छात्राको सिकाईलाई जोड दिन शिक्षकले विभिन्न शिक्षण क्रियाकलाप गराउन सक्छन् जस्तै– भूमिका निर्वाह, समूह छलफल, घटना अध्ययन, व्यङ्गय रचना वा प्रहसन, प्रदर्शन तथा क्षेत्र भ्रमण आदि । यी विभिन्न क्रियकलापमा छात्र–छात्रालाई समान रुपले भाग लिन लगाई लैङ्गिकता उत्तरदायी शिक्षण अपनाउन सकिन्छ । साथै यी सबै क्रियाकलापमा शिक्षक–विद्यार्थी तथा विद्याथी–विद्यार्थी सम्बन्ध आपसमा सहयोगी र सुमधुर हुनु पर्दछ । यसरी लैङ्गिक उत्तरदायी विद्यालय बनाउनमा लैङ्गिक उत्तरदायी शिक्षण अति नै महत्वपूर्ण छ ।
हालसम्मका प्रयास
समग्रमा भन्नु पर्दा नेपाल सरकार तथा शिक्षा क्षेत्रमा कार्यरत गैह्र–सरकारी संघ–संस्था, अन्तर्राष्ट्रिय÷संयुक्त राष्ट्र संघीय संस्थाहरु तथा विकसित राष्ट्रहरुले नेपालमा बालिका तथा महिला शिक्षा, सीमान्तकृत विपन्न वर्गका बाल–बालिका, आदिवासी–जनजाति तथा अपाङ्गता भएका बाल–बालिकाको शिक्षामा बढोत्तरी गर्न अनुदान, विभिन्न किसिमका छात्रवृत्ति, छात्रावास तथा विद्यालय भवन निर्माण तथा अन्य भौतिक पूर्वाधारहरु निर्माण आदि गरी सहयोग पु¥याएको सर्व विदितै छ । लैङ्गिक समविकास शिक्षालाई जोड दिन विभिन्न रणनीति तथा कार्यान्वयन बालिका शिक्षालाई जोड दिन गरिएको छ । त्यसै गरी शिक्षक अभिभावकलाई बालिका शिक्षा प्रति सचेत गराउन तालिम सम्बन्धि पुस्तका लेख तथा रचनाहरु प्रकाशित गर्दै आएको पनि छ, जसले यस क्षेत्रमा केही सचेतना त ल्याएकै छ, तर पूर्ण रुपमा सन्तोष लिन मिल्दैन ।
समस्या समाधाका उपायहरु
योजना, कार्यक्रम तथा कार्यान्वयनले दिगो सोच राखी अपेक्षित प्रतिफलको आशा गर्न सकिन्छ । तसर्थ विद्यालयहरुलाई लैङ्गिक उत्तरदायी बनाउनका लागि सरकारी तवरबाट नै ठोस नीति अवलम्बन गरिनु पर्दछ । त्यसै गरी लागू गरिएको कार्यक्रमको नियमित÷निरन्तर रुपमा अनुगमन गरिनु पर्दछ, जुन हाम्रो सरकारी नीतिमा भएतापनि अभ्यास ओझेलमा परेको देखिन्छ । कार्यक्रम संगसंगै अनुगमन पनि निरन्तर गरियो भने आवश्यक सुधारका लागि पृष्ठपोषण पनि निरन्तर रुपमा दिईयो तथा राम्रो काम अनुसार प्रशंसा र पुरस्कार अनि नराम्रो काम अनुसार दण्डित गर्ने परिपाटी सशक्त गरियो भने लैङ्गिक उत्तरदायी विद्यालय पनि स्थापना गर्न सकिन्छ ।
लैङ्गिक उत्तरदायी विद्यालय समुदायको सहयोग विना प्रायः असम्भव भएकोले समुदायका मानिसहरुलाई साक्षर, सचेत तथा विद्यालय र बालिका शिक्षा प्रति सकारात्मक बनाउने अभ्यास गर्नु जरुरी छ किन भने कुनै पनि देश विकासमा सरकारले मात्र काम गरेर पुग्दैन । सबै व्यक्ति–समाजको हातेमालोबाट नै लैङ्गिकता उत्तरदायी शिक्षण, विद्यालय, समाज अनि देश बन्न सक्छ ।
अन्त्यमा
हाम्रो जस्तो अल्प विकसित देशमा सरकारी तवरबाट नै नीति–नियम लागू गरी लैङ्गिक समानतालाई सहज रुपमा समाजलाई विकासको बाटोमा लान सकिन्छ तर समाजमा लैङ्गिक सचेतना जगाउन, लैङ्गिक संवेदनशील हुन र विभेद हटाउन नीति–नियम लागू गरेर मात्र हुँदैन । त्यसका लागि समाजका जाने–बुझेका मानिसहरुको सहकार्य जरुरी छ । तसर्थ यस लेखमा केही मात्रामा लैङ्गिक उत्तरदायी विद्यालय बनाउन वा लैङ्गिक उत्तरदायी शिक्षण–सिकाईमा के–कस्ता कुराहरुलाई जोड दिनु पर्ने भन्ने जस्ता कुराहरु समेटिएको छ, जसलाई लैङ्गिक उत्तरदायी बनाउन मुख्य गरी घर–परिवार, समुदाय, शिक्षक, विद्यार्थी तथा सरकार वा भनौ बृहत समाजमा नै लैङ्गिकता प्रति सकारात्मक सोंच जगाउनु आवश्यक छ अनि परम्परागत विभेदजन्य सोंच विस्तारै हट्दै गए लैङ्गिक उत्तरदायी विद्यालय अवश्य बन्छ ।