काठमाडौँ ।
बारा र पर्सा जिल्लामा आज साँझ आएको भीषण हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको छ।
हावाहुरीका कारण ज्यान गुमाउनेहरुको यकिन संख्या खुलिसकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विट गर्दै हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाइते भएको जानकारी दिएका छन्।
गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाए अनुसार बारा जिल्लामा हावाहुरीले भट्टाको चिम्नी लडाउँदा कम्तिमा ३ जनाको मृत्यु भएको छ। त्यसैगरी गुडिरहेको गाडी पल्टिँदा २ जनाको मृत्यु भएको छ।
पर्साका विभिन्न स्थानमा १२० जना घाइते भएको र उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीलाई उद्धृत गर्दै राससले जनाएको छ। बारामा पनि थुप्रै घाइतेहरु भएको र उनीहरुको उपचार कलैया अस्पतालमा भइरहेको छ।
ग्रामीण क्षेत्रमा आएको हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको छ। हुरीका कारण आपतमा परेकाहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ।
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले पनि ट्विट गर्दै ठूलो संख्यामा जनधनको क्षति भएको जानकारी आएको बताएका छन्।











प्रतिक्रिया दिनुहोस्