सार्वजनिक जग्गाफर्काउन वडालाई सकस



कोहलपुर ।

विभिन्न समयमा अतिक्रमित सार्वजनिक जग्गा आफ्नो स्वामित्वमा लिन स्थानीय तहलाई सकस भएको छ । अतिक्रमण गरेर प्रयोग गर्दै आएको सार्वजनिक जग्गा प्रयोगकर्ताहरुले नछोड्दा तहलाई जग्गा नियन्त्रणमा लिन समस्या परेको हो । कोहलपुर नगरपालिका–२ आनन्दनगरमा रहेको सार्वजनिक जग्गाको बिषयलाई लिएर विवाद चर्किदै जान थालेको छ ।

२०६१ सालदेखि त्यहाँको प्रगतिशिल दलित महिला समूहले प्रयोग गर्दै आएको २३ कट्ठा जग्गाको बिषयलाई लिएर बढेको विवाद अहिले सतहमा पोखिएको छ । वडा कार्यालय र महिला समूहबीच जग्गा कसको मातहतमा हुने भन्ने विषयले चर्को विवाद निम्त्याएको छ । २०६१ सालदेखि आफुहरुले संरक्षण गर्दै आएको जग्गामा वडा कार्यालयले नजर लगाएको स्थानीय तुलसी सुनारले बताइन् ।

‘लामो समयदेखि महिला समूहले संरक्षण गर्दै आइरहेको जग्गा अहिले आएर वडा कार्यालयले लिन खोजिरहेको छ,’ उनले भनिन्, ‘त्यो हुन हामी कदापी मान्दैनौं, सार्वजनिक जग्गा अतिक्रमण भइरहेको बेला हामीले संरक्षण गरेका हौं, सोही आसपासका अन्य सरकारी जग्गामा ठूला घर बन्दा हामीले जग्गामा आयआर्जनका लागि खेती ग¥यौं ।’ उनले अन्यत्रको अतिक्रमणलाई वेवास्ता गर्दै आफुहरुले प्रयोग गरेको जमिन मात्रै वडाले लिन खोजेको आरोप लगाइन् ।

महिला समूहले प्रयोग गरिरहेको जग्गा वडा कार्यालयले लिने भए वडाका अन्य स्थानमा व्यक्तिहरुले अतिक्रमण गरेका जग्गा पनी वडाले लिनुपर्ने समूहको माग छ । कोहलपुर नगरपालिकाले बनाउने भनेको दलित संग्राहालय सोही जग्गामा बनाउनुपर्ने प्रगतिशिल दलित महिला समूहको माग रहेको छ । ‘२३ कट्ठा जग्गामध्ये वडा कार्यालय बनाउने भए हामी १० कठ्ठा दिन तयार छौं’ सुनारले थपिन्, ‘नभए अन्य बाँकी रहेको जग्गामा दलित संग्राहालय बनाउनुपर्छ ।’ वडा नम्बर २ कार्यालयले सार्वजनिक जग्गा आफुमातहत आउनुपर्ने बताएको छ, भने महिला समूहले अहिलेसम्म आफुहरुले संरक्षण गरेको भन्दै छोड्न मानेका छैनन् ।

विवाद नगरपालिकाकासम्मसमेत पुगिसकेको छ । वडा नम्बर २ का अध्यक्ष कर्णसिंह बुढाक्षेत्रीले सार्वजनिक जग्गा आफुहरुले संरक्षण मात्र गर्न खोजेको बताएका छन् । ‘वडा भित्रका सार्वजनिक सम्पत्ति संरक्षण गर्ने दायित्व वडा कार्यालयको हो’ उनले भने, ‘सोही अन्तर्गत नै यहाँ भएका सबै सरकारी सम्पत्तीलाई वडा कार्यालय मातहत ल्याइने छ ।’ नेपाल सरकारको स्वामित्वमा रहेको जग्गा केही सिमित व्यक्ति वा समूहको नाममा राख्दा दुरुपयोग नहोस् भन्ने आशयले सार्वजनिक जग्गा संरक्षण गर्न खोजिएको वडा अध्यक्षको भनाइ छ ।

बुढाक्षेत्रीले भने, ‘भविष्यमा सरकारी काममा नै प्रयोग गर्ने हेतुले जग्गा वडा कार्यालयको मातहत राख्न खोजेका हौं, वडामा रहेका अन्य सार्वजनिक सम्पत्तिसमेत खोजेर कार्यालयले संरक्षण गर्नेछौं ।’ जग्गाको बिषयलाई लिएर विभिन्न संघ संस्थाले आफ्नो चरित्र हत्या हुने गरी विज्ञप्ती निकालेको भन्दै वडा अध्यक्ष बुढाक्षेत्रीले आपत्तीसमेत जनाएका छन् ।

उनले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘सार्वजनिक जग्गाको बिषयलाई जोडेर अनर्गल समाचार एवं विभिन्न संघ÷संगठनको नामबाट जारी गरिएको विज्ञप्तीमा भू–माफियाको संज्ञा दिदै मेरो चरित्र हत्या गर्ने प्रयासको म घोर भत्र्सना गर्दछु ।’

प्रकाशित मिति : २०७५ फागुन २१ गते मंगलबार