सुर्खेत ।
जलविद्युतको क्षेत्रमा लगानी गर्न कर्णाली क्षेत्रका उद्योगी र व्यवसायीहरुलाई अनुरोध गरिएको छ । आइतबार वीरेन्द्रनगरमा आयोजना गरिएको एक कार्यक्रमका सहभागीहरुले व्यवसायीहरुलाई जलविद्युत उत्पादनमा लगानी गर्न अनुरोध गरिएको हो ।
कर्णाली प्रदेश सभा सदस्य ठम्मर बहादुर विष्टले जलविद्युतको प्रचुर सम्भावना भएको कर्णाली प्रदेशमा प्रयाप्त लगानीको अभाव रहेको बताए । ‘यस क्षेत्रमा जलविद्युतको सम्भावना धेरै छ, यहाँका उद्योगी, व्यवसायीहरु अब जलविद्युतका क्षेत्रमा लगानी गर्नुहोस’ उनले भने, ‘हामीले उत्पादन गरेको विद्युत आन्तरिक रुपमा खपत गर्दै बाहिर निकासी गर्दै आम्दानी गर्न सकछौं, लगानी भित्र्याउन प्रदेश सरकार राजश्व छुटदेखि प्रारम्भिक पूर्वाधार निर्माणमा जुटेकोछ ।’
रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले डुङ्गेश्वर गाउँपालिका वडा नं. ४, व्यूराखेतमा निर्माण गरिरहेको अपरपराजुली खोला २ दशमलव १५ मेगावाट जलविद्युत आयोजनाको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले व्यवसायीलाई जलविद्युतमा लगानी गर्न सुझाव दिएका हु्न् । कर्णालीलाई समृद्धितर्फ लैजान जलविद्युत सबैभन्दा उपयुक्त माध्यम भएको बताउँदै उनले मनग्य आम्दानीसँगै प्रदेश समृद्धिको हिस्सेदार बन्न अनुरोध गरे ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धन बहादुर रावतले अपर पराजुली खोला जलविद्युत आयोजना प्रदेशको पहिलो सिढि भएकाले यसलाई पूर्णता दिन आयोजनामा लगानी गर्न उद्योगी, व्यवसायीहरुलाई आग्रह गरेका थिए । ‘आयोजनाका बारेमा राम्रोसँग अध्ययन गरेर त्यसलाई पूर्णता दिन आवश्यक पर्ने लगानी गर्न सबैमा आग्रह गर्दछु’ उनले भने ।
सुर्खेत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं प्रतिष्ठित व्यवसायी विष्णुबहादुर शाहीले उद्योगका लागि विद्युत पहिलो आवश्यकता भएकाले विद्युत उत्पादनमा जोडिनुपर्ने विचार व्यक्त गरे । यस्तै राष्ट्रिय सहकारी बैंकका केन्द्रिय सञ्चालक हरिहरनाथ योगीले सहकारीहरुलाई कम्पनीमा लगानी गर्न बन्देज लगाइएको बताए । नयाँ आएको सहकारी ऐनले सहकारीहरुलाई कम्पनीहरुलाईमा सेयर लगानी गर्न रोक लगाएको हुँदा यसलाई सुधार गर्न सहकारी अगुवाहरु लागि परेको जानकारी दिए ।
केही जिल्लामा सहकारीहरुकै माध्यमबाट जलविद्युत आयोजनाहरु निर्माण गरेर सञ्चालन गरेको उनको भनाइ थियो । रारा हाइड्रोपावर डभलेपमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष नरसिंह मल्लले विद्युत प्राधिकरणले उत्पादित विद्युत राष्ट्रिय प्रशारणमा जोड्ने पूर्वाधार लामो समयसम्म निर्माण नगर्दा आयोजना पछाडि सरेको बताए । उनले भने ‘३३ केभिए प्रशारणलाई नहुँदा आयोजना निर्माणमा ढिलाई भयो । बजारमूल्य, वित्तिय संस्थाको व्याजका कारण आयोजना निर्माण सम्पन्न हुँदा केही महंगो पर्न गएको छ ।’
आयोजना अन्तिम चरणमा भएकाले केही पुँजीको अभाव हुँदा संस्थापक शेयर सदस्य बन्न चाहने लगानी कर्ताहरुलाई शेयर लिन आग्रह गरेका थिए । न्यूनतम ५ लाखदेखि अधिकतम ५० लाखसम्म लगानी गर्न इच्छुक लगानीकर्ताहरुले स्थलगत अध्ययन, अवलोकन गरेर लगानी गर्न अध्यक्ष मल्लले आग्रह गरे । कम्पनीले २०७५ फागुन मसान्तसम्म प्रति कित्ता ११५ रुपैयाँ र चैत्र मसान्तसम्म प्रति कित्ता १५० रुपैयाँका दररले सेयर लगानीको आव्हान गरेको छ ।
२.१५ मेगावाट क्षमताको विद्युत आयोजना निर्माणमा एभरेष्ट बैंक, सिद्धार्थ बैंक र मेघा बैंकको ७० प्रतिशत र शेयर सदस्यहरुकोे ३० प्रतिशतमा करिव ५५ करोडको लागतमा निर्माणको अन्तिम चरणमा रहेको छ ।
कार्यक्रममा कम्पनीका परियोजना प्रमुख तथा इन्जिनियर चित्रलाल विश्वकर्माले आयोजना प्रगति अवस्थाका बारेमा जानकारी गराएका थिए । आयोजना अन्तिम चरणमा रहेको बताउँदै बैशाख महिनाभित्र विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारणलाईनमा जडान गर्ने तयारी रहेको बताए ।









प्रतिक्रिया दिनुहोस्