8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

बाँकेमा ६ वटा स्मार्ट कृषि गाउँ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन ६, २०७५  

कोहलपुर ०६ , बाँकेमा ६ वटा गाउँ स्मार्ट कृषि गाउँ बन्ने भएका छन् ।
कृषि उत्पादनलाई दोब्बर बनाउने लक्ष्यसहित प्रदेश ५ सरकारले प्रदेश बाँकेका ६ वटा गाउँहरुलाई स्मार्ट कृषि गाउँ बनाउन लागेको हो । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार राप्ती सोनारी गाउँपालिका–७ फत्तेपुर सर्री, कोहलपुर नगरपालिका–१३ खड्गबार, खजुरा गाउँपालिका–२ सीतापुर, नेपालगन्ज उपमहानगरपालिका १२ को बेलासपुर क्षेत्र, बैजनाथ गाउँपालिका–४ को नौलापुर÷तिलकपुर, डुडुवा गाउँपालिका–३ बनकट्टी÷हल्बलडोली÷हल्कारापुर्वा गरी ६ वटा गाउँ छनोट गरिएको छ ।
स्मार्ट कृषि गाउँ कार्यक्रमले कृषि उत्पादनको विकासका लागि चाहिने पानी, मल, बिउ, माटो, प्राविधिक जनशक्ति व्यवस्थापनसँगै बजारीकरणलाई समेत जोड्ने प्रदेश ५ की भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताइन् ।
‘नमूना कृषि गाउँ छनोट गरेर उत्पादन बढाएर मात्र भएन उत्पादनलाई बजारसम्म पु‍¥याउनको लागि बाटो, बिजुली तथा भण्डारणको कामलाई समेत सँगसँगै लैजाने छौं,’ उनले भनिन् ।  पहिलो चरणमा एउटा प्रदेश निर्वाचन क्षेत्रमा एउटा गाउँलाई नमूना कृषि गाउँको रूपमा स्थापित गर्ने उद्वेश्यले प्रदेश सरकारले प्रदेशका ५२ वटा निर्वाचन क्षेत्रमा ५२ वटा स्मार्ट कृषि गाउँ बनाउने घोषणा गरेको थियो ।
सोही कार्यक्रम अनुरुप चालु आर्थिक बर्षको बजेटमा हरेक स्मार्ट कृषि गाउँलाई सरकारले ५०÷५० लाख रुपैयाँ बजेट समेत विनियोजन गरिसकेको छ । स्मार्ट कृषि गाउँ कार्यक्रम सन्चालन कार्यविधि २०७५ अनुसार जलवायु समानुकूलित प्रविधि र अभ्यास अवलम्बन गरिने, सिँचाइमा २० देखि ३० प्रतिशत रकम, पोषक तत्वका लागि १० देखि २० प्रतिशत, ३० देखि ४० प्रतिशत स्मार्ट प्रविधिमा खर्च हुने उल्लेख गरिएको छ । प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’ ले कृषकहरुलाई आत्मनिर्भर बनाउन आधुनिकीरण र व्यवसायिककरण आवश्यक हुने बताइन् । ‘किसानलाई आत्मनिर्भर बनाउन कृषिको आधुनिकीरण र व्यवसायिककरण आवश्यक छ’, उनले भनिन् ।
यसतर्फ समेत प्रदेश सरकारले ध्यान दिन आवश्यक छ । प्रदेश सांसद नमुनाले नयाँ पुस्तालाई कृषिमा जोड्न समेत ‘स्मार्ट कृषि’ गाउँ कार्यक्रमले मद्वत पु¥याउने दाबी गरिन् । ‘अहिले जिल्लामा वर्षे बाली धान र हिउँदे वाली त भइरहेको छ । तीन बालीका लागि यो कार्यक्रमले मद्दत गर्नेछ’, कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख ढकालले भने, ‘तेस्रो बालीको रुपमा धेरै ठाउँमा तरकारी र मकैलाई चयन गरिएको छ । सबै गाउँमा उक्त कार्यक्रम सञ्चालनको लागि स्मार्ट कृषि गाउँ सन्चालक समितिको गठन गरिएको छ ।
स्मार्ट कृषि गाउँको लागि तराईका गाउँमा १ सय बिघादेखि २ सय बिघा जग्गा छनोट गरिएको छ भने पहाडी क्षेत्रमा भौगोलिक विकटताका कारण अलि कम क्षेत्रफल लिइएको मन्त्रालयले बताएको छ । एक स्मार्ट गाउँबाट १ सयदेखि १ सय ५० जनासम्म किसान लाभान्वित हुने अपेक्षा गरिएको छ । स्मार्ट कृषि गाउँ कार्यक्रममार्फत् कृषि क्षेत्रमा युवाहरूको आकर्षण बढ्नुको साथै कृषि क्षेत्रको उत्पादकत्व बढ्ने प्रदेश सरकारले अपेक्षा गरेको छ । प्रदेशका सबै निर्वाचन क्षेत्रमा स्मार्ट कृषि गाउँ छनोट गर्ने प्रक्रिया अन्तिम चरणमा पुगिसकेको प्रदेश सरकारले जनाएको छ ।
प्रकाशित मितिः सोमवार, फाल्गुन ६, २०७५     5:40:35 AM  |