खजुराले अब अनलाईन मार्फत सेवा दिने



नेपालगन्ज/  बाँकेको खजुरा गाउँपालिकाले अब व्यक्तिगत घट्ना दर्ता तथा सामाजिक सुरक्षा प्रणालीलाई अनलाईन मार्फत सञ्चालन गर्ने भएको छ । खजुरा गााउँपालिका ८ वटै वडामा अनलाईन मार्फत घटना दर्ता बिलिङ्ग गर्न पक्रिया अगाडी बढाइएको छ ।

सबै वडामा अनलाईन सेवा सञ्चालनका लागि इन्टरनेट जडान, कर्मचारीलाई तालिम लगायतको प्रक्रिया अगाडी बढाइएको हो । अनलाईन व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा प्रणाली व्यवस्थापन सम्बन्धी तालिम खजुरामा शुक्रबारदेखि शुरु भएको छ ।

पाँच दिने तालिममा गाउँपालिका आइटी अफिसर सुरेश साहु, कार्यालय सहायक राजेन्द्र कुमार वर्मा र सन्तोषी बिष्टले सहभागी सचिव खरिदारलाई व्यहारिक तथा सैद्धान्तिक ज्ञान सिकाइरहेका छन् ।

हाल वडा नं. १ देखि ४ सम्म इन्टरनेट जडान भइसकेको छ । तालिम उद्घाटनमा बोल्दै गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले २१ औँ शताब्दीमा समय सुहाउँदो अनलाईन मार्फत कामकाज हुने बताए ।

उनले अनलाईन सेवाले सेवाग्राहीको काम अझ प्रभावकारी ढंगले हुने विश्वास व्यक्त गरे । गाउँपालिका उपप्रमुख एकमाया बिकले अनलाईन सेवाले हिजोका दिनमा जस्तो नाम छुट्ने, दोहोरिने समस्या हट्नुका साथै काममा पारदर्शिता र प्रभावकारी हुने बताइन् ।

कार्यक्रममा खजुरा गाउँपालिका निमित्त प्रमुख अधिकृत दिलबहादुर पौडेलले अनलाईन सेवाले सुरक्षा र समयको बचत हुने बताए । उनले सञ्चारको युगमा सरकारको नीति अनुरुप नै गाउँपालिकाले अनलाईन अभिलेखीकरण सेवा सञ्चालन गर्न लागेको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक १७ गते शनिबार