बर्दिया/ बर्दियाको बाँसगढी नगरपालिकाले कार्यक्रम, बजेट र योजनाहरुको बुधबार वार्षिक समिक्षा गरेको छ । वार्षिक समिक्षा कार्यक्रममा आर्थिक वर्ष २०७४÷०७५ मा सम्पन्न योजना र बजेटका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा वर्षभरि नगरपालिकाले सम्पन्न गरेका योजना र बजेट सहितको आर्थिक प्रतिवेदन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमरराज खत्रीले प्रस्तुत गरेका थिए । नगरपालिकाले नगर भित्रका विभिन्न सडकहरुको ग्राभेलमा धेरै बजेट खर्च गरेको छ ।
नगरपालिकाले स्थानीय कर, सेवा शुल्क, दस्तुर, स्रोत परिचालन र अन्य गरी १ करोड ७ लाख ५३ हजार ९७ रुपैयाँ ७४ पैसा बराबरको आन्तरिक आम्दानी गरेको छ ।
त्यस्तै समिक्षा कार्यक्रममा ५७ करोड ७८ लाख ४८ हजार ४ सय ७३ रुपैयाँ ५५ पैसा बराबरको आयव्यय सहितको नगरपालिकाको एकीकृत वार्षिक आर्थिक वितरण प्रस्तुत गरिएको थियो ।
समिक्षा कार्यक्रममा सहभागी सरोकारवालाहरुले पनि सुझाव दिएका थिए । कार्यक्रममा सरोकारवाला सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधि, नगर स्तरीय विभिन्न सञ्जालका प्रतिनीधि, उद्योग वाणिज्य संघ, सामुदायिक वनका प्रतिनिधि, शिक्षक, बरघर, स्थानीय समाजसेवी लगायतको उपस्थीति रहेको थियो । नगर प्रमुख शालिकराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शेर बहादुर केसीले गरेका थिए ।