नेपालगन्ज/ जिल्ला ट्राफिक कार्यालय बाँकेले साउन १ गतेदेखि भदौ १२ गतेसम्ममा रु १२ लाख १५ हजार पाँच सय राजश्व सङ्कलन गरेको छ ।साउन महिनामा मात्रै ट्राफिक नियम विपरीत चलेका सवारी साधनमध्ये सबैभन्दा धेरै ७११ वटा मोटरसाइकल कारवाहीमा परेका छन् ।
सोही अवधिमा ५३९ वटा ट्रक, २४१ जीप, कार, १३९ बस र ८४ वटा अन्य (अटो रिक्सालगायत) सवारी साधन कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्याङ्क छ । तथ्याङ्कअनुसार साउन १ गतेदेखि हालसम्म नौ वटा गम्भीर खालका दुर्घटना भएका छन् ।
दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरी निरीक्षक रोकायका अनुसार गम्भीर खालका दुर्घटनाको दर पनि उच्च रहेको छ । सामान्य खालका दुर्घटना अत्यधिक रहे पनि रेकर्ड भने राखिँदैन ।
कारवाहीमा पर्नेमा अधिकांश १० देखि ३० वर्ष उमेर समूहका बिना लाइसेन्स तीव्र गतिमा सवारी चलाउनेको सङ्ख्या धेरै रहेको ट्राफिक प्रहरीले जनाएको छ ।-रासस