दृष्टिविहिन विद्यार्थीका माग वेवास्ता गरेको गुनासो



कोहलपुर/  बाँकेको कोहलपुरस्थित त्रिभुवन नमुना माध्यामिक विद्यालयमा विशेष शिक्षा अध्ययन गरीरहेका १४ जना दृष्टिविहिन विद्यार्थीहरुले आफ्ना मागहरु विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिलाई पुरा गर्न पटक पटक ज्ञापनपत्र बुझाए पनि विद्यालय प्रशासनले मागहरु वेवास्ता गरेपछि समस्या समाधानका लागि नगर प्रमुख, विद्यालय निरीक्षक र पत्रकारलाई गुहारेका छन् । उनीहरुले बुधबार कोहलपुर नगरपालिका प्रमुख तथा विद्यालय प्रशासनका बिच पत्रकार सम्मेलन गरी सो विषमा जानकारी गराएका छन् ।

यसअघि आफ्ना माग पुरा गराउँन विद्यालय प्रशासनलाई दुई पटकसम्म ज्ञापन पत्र बुझाउँदा पनि वेवास्ता गरेपनि बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको छात्र गोर्कण तिमिल्सिना बताए । डेढ महिना अघि आफुहरुले १९ बुँदे माग सहितको ज्ञापन पत्र विद्यालयकी प्रधानाध्यापक देवका थापालाई बुझाए पनि सो विषयमा जानकारी लिन खोज्दा ज्ञापन पत्र नै हरायो भन्ने जस्ता गैर जिम्मवारीपूर्ण प्रतिक्रिया दिएर आफ्ना मागहरु वेवास्था गर्ने गरेको विद्यार्थीहरुको गुनासो रहेको छ ।

श्रोत कक्षा व्यवस्थापनका निम्ति सरकारले उपलब्ध गराउँदै आएको रकमदेखि अन्य शिर्षकमा विशेष कक्षा सञ्चालनमा आउँने रकमबारे विद्यालय पारदर्शी रुपमा आफुहरुलाई केही जानकारी नदिएको आरोप लगाएका छन् । उनीहरुले विद्यालय हाताभित्र खुलेआम ध्रुमपान तथा मध्यपान हुँदा समेत विद्यालय प्रशासन मुकदर्शक बनेको भन्दै दुख ब्यक्त गरेका छन् ।

कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले दृष्टिविहीन विद्यार्थीहरुले राखेका १९ वटै मागहरु सान्दर्भिक र जायज भएको भन्दैे तत्काल समस्या समाधानका लागि विद्यालय निरीक्षक संयोजक रहने गरी ५ सदस्यीय समिति गठन गर्न निर्देशन दिए । साथै उनले विद्यालयकी प्रधानाध्यापकले चित्तबुझ्दो जवाफ दिन नसकेको समेत बताए । नगर प्रमुखकोे निर्देशनपछि दृष्टिविहीन विद्यार्थीहरु माग सम्वोधन हुनेमा आशावादी बनेको बताएका छन् ।

विशेष शिक्षा सञ्चालन हुने विद्यालयलाई सरकारले नै प्रति विद्यार्थीलाई भोजन लगायतको व्यवस्थापनका लागि मासिक ४ हजार छुट्याउने गरेपनि के कति कारणले विद्यार्थीहरु मर्कामा परेका हुन् ? यस विषयमा पनि नगर प्रमुख रावतले विद्यालय प्रशासन र व्यवस्थापन समितिसँग चासो व्यक्त गरेका थिए । दृष्टिविहिन विद्यार्थीहरुले भान्साकोठाको भौतिक अवस्था नाजुक रहेकाले तत्काल मर्मत गर्नुपर्ने, श्रोत शिक्षिका परिवर्तन गर्नुपर्ने, आवास कक्षको तत्काल स्तरोन्नति गर्नुपर्ने लगायत संवेदनशील गम्भिर सवालसहित विभिन्न १९ बुँदे मागहरु राखेका छन् ।

पत्रकार सम्मेलनमा दृष्टिविहिन विद्यार्थीहरुले विद्यालयकी प्रधानाध्यापक देविका थापाको कार्यशैली भेदभावपूर्ण रहेको आरोप लगाएपछि उनले समय अभावका कारण तत्काल दृष्टिविहिन विद्यार्थीहरुका मागहरु सम्वोधन गर्न नसकिएको बताइन् । उनले विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर समाधान गर्ने सकिने विषयमा आफूले पहल गर्ने प्रतिबद्वता जनाएकी छिन् ।

यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर रानाले कुनै पनि अवस्थामा सरकारले उपलब्ध गराउँदै आएको रकम सही सदुपयोग गरिएको र विशेष कक्षा सञ्चालन र व्यवस्थापनका लागि सरकारले उपलब्ध गराउँदै आएको रकम अपुग भएपछि विद्यालयले अपुग हुन आउने रकम व्यवस्थापन गर्दै आइरहेको बताए । उनले दृष्टिविहिन विद्यार्थीहरुको मागहरुबारे अवस्था हरेर तत्काल सम्वोधन गर्न सकिने मागहरुलाई तत्काल र बाँकी मागहरु क्रमिक रुपमा सम्बोधन गर्न सकिने बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन ३१ गते बिहीबार