8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

छाडा चौपाया व्यवस्थापनको माग गर्दै ज्ञापन पत्र

रावन विश्वकर्मा
प्रकाशित मितिः बुधबार, साउन १६, २०७५  

बाँसगढी, बर्दिया/  बाँसगढी बजार क्षेत्रमा रहेका छाडा पशु चौपायाहरुलाई नगरपालिकाको परिसरमा लिएर छोडिएको छ । महिनौ देखि छाडा चौपायाको सास्ती झेलिरहेका व्यापारी, किसान र स्थानीयहरुले छाडा चौपायालाई अगाडि हिडाएर “छाडा चौपायालाई ब्यवस्थापन गर्”, “पीडित किसानलाई क्षतिपूर्तिको व्यवस्था गर्”, “गाई गोरु छाड्नेलाई कारबाही गर्” जस्ता नाराबाजी गर्दै बजार परिक्रममा गरी नगरपालिका कार्यालयमा छोडेका थिए ।

नगरपालिकाको गेट प्रहरीले खोल्न नदिए पछि नजिकैको मन्दिरको गेट खोलेर कार्यालय परिसर भित्रै पशु चापाय छोडिएको थियो । साथै उनीहरुले छाडा चौपायाको व्यवस्थापनको माग गर्र्दै नगर उपप्रमुख सुष्मा चौधरीलाई ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा छाडा चौपायाले स्थानिय किसानहरुले रोपेको मकै, धानबाली नष्ट गरेको, पूर्व–पश्चिम राजमार्गमा चल्ने गाडी र यात्रुलाई अवरोध भएको, बजार क्षेत्र दुर्गन्धित पारेको भनि आफूहरुले नगरपालिकामा पटक–पटक जानकारी गराउँदा पनि नगरपालिकाले आफ्नो कुरालाई ब्यवास्ता गरेकोले आफूहरु आन्दोलन गर्न बाध्य भएको उल्लेख गरिएको छ ।

अब पनि नगरपालिकाले आफूहरुको मागप्रति कुनै कदम नचाले आफूहरुले थप आन्दोलन गर्न बाध्य हुने र त्यसको जिम्मा नगरपालिका स्वयंले लिनुपर्ने भन्दै स्थानीय किसानहरुले चेतावनी दिएका छन् ।

ज्ञापनपत्र बुझ्दै बाँसगढी उपप्रमुख सुष्मा चौधरीले छाडा चौपाया व्यवस्थापनमा नगरपालिका एक्लैले गरेर नहुने भन्दै सबैले सहयोग गर्नु पर्ने बताइन् ।

उनले छाडा चौपाया व्यवस्थापनका लागि नगरपालिकाले बाँसगढी नगरपालिका–४ अमैयामा गाई व्यवस्थापनका लागि गौशाला निर्माण भइरहेको जानकारी दिइन् । छाडा चौपाया व्यवस्थापनका लागि नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा रु २० लाख रकम छुट्टाएको पनि जानकारी गराइन् ।

प्रकाशित मितिः बुधबार, साउन १६, २०७५     7:34:04 AM  |