खेलकुदमन्त्री विश्वकर्माद्वारा कोहलपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको शिलान्यास



भीम रावत : कोहलपुर/  आगामी मंसीर २१ गते देखि २८ गते सम्म नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र रुपमा भइरहेको छ ।

सो प्रतियोगितामा हुने क्रिकेट खेल कोहलपुरमा रहेको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न हुने भएको छ । त्यसका लागि यतिबेला पूर्वाधारका कार्यहरु भइरहेका छन् ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बिहीबार कोहलपुरमा रहेको क्रिकेट मैदान पिचको शिलान्यास गरेका हुन् । शिलान्याससँगै अब आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा क्रिकेट प्रतियोगिता कोहलपुरमै हुने कुरामा ढुक्क रहन मन्त्री विश्वर्माले आश्वासन दिए ।

क्रिकेट मैदान पिचको शिलान्यास गर्दै मन्त्री विश्वकर्माले भने, ‘नेपाली क्रिकेट त्यसमा पनि महिला क्रिकेटको हकमा कोहलपुर जननी नै रहेको र आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालगञ्जमै हुँदै गर्दा कोहलपुरमा स्वभाविक रुपमा क्रिकेट प्रतियोगिता हुनु पर्दछ ।

त्यही भनेर नै सो खेल कोहलपुरमा खेलाउने निर्णय भएको हो । बाँकेमा रहेका खेलप्रेमी ,खेलाडीहरु ,राजनीतिक दलका प्रतिनिधिहरु र विशेषतः कोहलपुर नगरपालिका प्रमुखले कोहलपुरमै गराउनु पर्ने जोडदार रुपमा कुरा उठाइरहनु भएको छ । त्यसले पनि हामीलाई कोहलपुर मै क्रिकेट खेल खेलाउनु पर्छ भन्ने हाम्रो निर्णय प्रति प्रतिवद्ध बनाएको छ ।’

मन्त्री विश्वकर्माले तत्काल आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई चाहिने पूर्वाधारको तयारी गरिने र त्यस पछि पनि यो मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डको प्याराफिट सहितको क्रिकेट मैदान बनाउन आफूले भूमिका खेल्ने बताए ।

बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश्वर गहतराजले क्रिकेट खेलसँग बाँकेको भावानात्मक सम्बन्ध समेत रहेकाले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा क्रिकेट खेल कोहलपुर मै खेलाउनु पर्नेमा जोड दिए ।

गहतराजले भने , ‘आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालकै राष्ट्रिय गौरवको विषय पनि भएकोले यसलाई सफल बनाउन सबैको जिम्मेवारी रहेको र यसलाई सफलतापूर्वक सम्पन्न गर्न आफ्नो तर्फबाट पुरै जिम्मेवारीका साथ लाग्ने र सधै खेलकुद मन्त्रीकै हटलाइनमा रहने छु ।’

त्यस्तै कोहलपुर नगरपालिका प्रमुख लूटबहादुर रावतले कोहलपुरमा हुने क्रिकेट प्रतियोगिता अन्तै जादै छ रे भन्ने कुरा सुन्दा आफूलाई अत्यन्तै चिन्ता लागेको बताउदै शिलान्यास समेत भएपछि अब कोहलपुर मै हुने कुरा प्रति ढुक्क भएको बताए ।

रावतले भने , ‘कोहलपुरमै हुनु पर्छ भन्ने मेरो जोडदार माग हो र मैले आठौं राष्ट्रिय खेलकुद मुल समितिको बैंठकमा पनि उठाएको छु र मैदानमै आएर मन्त्री आफैले शिलान्यास गरिसकेपछि विश्वास बढेको छ । कोहलपुरमा हुने प्रतियोगितालाई सफल बनाउन स्थानीय सरकारको तर्फबाट हुने सहयोगका लागि सधैँ तयार छौं ।’

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी के कस्तो अवस्थामा त्यसको अनुगमन र निरीक्षणका लागि खेलकुद मन्त्री तीन दिनदेखि बाँके , बर्दिया र दान जिल्लामा आठौं राष्टिय खेलकुद प्रतियोगिता हुने स्थानहरुको अनुगमनमा आएका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन ११ गते शुक्रबार