कोहलपुर/ बाँकेका औषधी पसलेहरुले मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने औषधी बिक्रीमा समेत खेलबाड गर्ने गरेको पाइएको छ ।
अनुगमनका क्रममा बाँकेका विभिन्न स्थानका औषधी पसल सञ्चालकले चिकित्सकको सिफारिसबिना नै औषधी बिक्री गर्ने गरेको पाइएको हो । साथै उनीहरुले म्याद नाघेका र आफूले मनलाग्दी औषधी बिक्री गरेर सर्वसाधारणको स्वास्थ्यमा खेलबाड गर्दै आएको पाइएको छ ।
औषधी पसल सञ्चालनका लागि अनुमति लिएकाले बिक्री अनुमति नलिएका औषधीसमेत बिक्री गरी मानव स्वास्थ्यमाथि खेलवाड गरेको अनुगमनमा फेला परेको छ । चिकित्सकको सिफारिसबिना नशालु औषधीसमेत बिक्री गरेको पाइएको अनुगमन टोलीले जनाएको छ ।
दर्ता भएका अधिकांश औषधी पसलेले पनि बिक्री गर्दा मापदण्ड पूरा नगरेको पाइएको छ । पछिल्लो समय बाँकेका विभिन्न स्थानमा सञ्चालित औषधी पसलको अनुगमन गरेपछि उक्त तथ्य खुलासा भएको हो ।
मापदण्ड पूरा नगरी बिक्री वितरण गर्ने सञ्चालकलाई औषधी व्यवस्था विभाग नेपालगन्जले कारबाही सुरु गरेको छ ।
साता यता अनुमति नलिएका औषधी बिक्री गर्ने चार पसल शिल गरिएको छ । उनीहरूको औषधी बिक्री अनुमतिपत्र एक महिनका लागि निलम्बन गरिएको विभागका फार्मेसी निरीक्षक यादव प्रसाद ढकालले बताए ।
औषधी पसल अनुगमन गर्दा कोहलपुरका तीन र नेपालगन्जका एक गरी चार औषधी पसल सञ्चालकले त्यसरी बिक्री गरेको भेटिएपछि उनीहरूलाई कानुनी दायरामा ल्याइएको हो ।
कोहलपुरस्थित सीमा मेडिकल हल, आयुर्वेद औषधि पसल र सुरक्षा मेडिसिन डिस्ट्रिब्युटरलाई कारबाहीको दायरामा ल्याइएको निरीक्षक ढकालले जानकारी दिए ।
सीमा मेडिकल सञ्चालकले अनुमति नलिएका साइकेटिक औषधीको बिक्री गरी अभिलेख नराखेका कारण कारबाही गरिएको हो । आयुर्वेद औषधि पसलेले अनुमति नै नलिई एलोपेथिक औषधि बिक्री गरेको र सुरक्षा मेडिसिनले दर्ता नभएका औषधि पसललाई वितरण गरेको पाइएपछि कारबाही गरिएको निरीक्षक ढकालले बताए ।
यस्तै नेपालगन्ज उपमहानगरपालिका–२० राँझास्थित शान्ति नन्दन मेडिकलले अनुमति नलिएका औषधि बिक्री गरेको पाइएपछि एक महिना औषधि बिक्री इजाजत निलम्बन गरिएको छ ।
यसअघि नेपालगन्ज १८ कारकाँदोस्थित लामा मेडिकल हल र कोहलपुर ११ स्थित जीवन ज्वाला मेडिकल हलमा अनुमति नलिएका औषधि बिक्री गरेको पाइएको थियो ।
औषधि व्यवस्था विभागले ती दुबै मेडिकल हलको अनुमतिपत्र १५ दिनका लागि निलम्बन गर्दै त्यस अवधिसम्म औषधि पसल शिल गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्