जानकी गाउँपालिकाको ३१ करोड १७ लाख बजेट प्रस्तुत



जानकी (बाँके)/    जानकी गाउँपालिका बाँकेले तेस्रो गाउँसभा आईतवारबाट सुरु भएको छ। गाउँसभामा आर्थिक वर्ष २०७५÷०७६को लागि नीति, कार्यक्रम तथा अनुमानित आयव्यय प्रस्तुत भएको छ ।

गाउँपालिका अध्यक्ष रामनिवास यादवले आर्थिक वर्ष २०७५÷०७६को लागि नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरेका छन् भने उपाध्यक्ष भूमिसरा धितालले आर्थिक वर्ष २०७५÷०७६को लागि अनुमानित आयव्यय प्रस्तुत गरेकी छिन् ।

अध्यक्ष यादवले प्रस्तुत गरेको नीति तथा कार्यक्रम गाउँसभाले पास गरेको छ । गाउँसभामा उपाध्यक्ष धितालले आर्थिक वर्ष २०७५÷०७६को लागि ३१ करोड १७ लाख २ हजार रुपैयाको अनुमानित बजेट प्रस्तुत गरेकी छिन् ।

जसमध्ये विकासतर्फ २३ करोड ९ लाख ६९ हजार ८ सय ९३ छ भने बाँकी साधारणतर्फको खर्चमा विनियोजित गरिएको छ ।

वजेट प्रस्तुत गर्दै उपाध्यक्ष भूमिसरा धितालले ०७४÷७५ का विनियोजित बजेट र कार्यक्रम सुचारु हुने वक्तव्य दिएकी थिईन् ।

यसवर्ष गाउँपालिकाले एकीकृत सम्पती कर मार्फत १ करोड आम्दानी गर्ने लक्ष्य लिएको छ । गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विशेष नमूना वस्ती विकास कार्यक्रम प्रमुख आकर्षक रहेको छ ।

यसका साथै ८० वर्ष पुगेका जेष्ठ नागरिकलाई वार्षिक एकमुष्ठ सम्मान गर्ने, दलित मुस्लिम, पिछडिएका वर्गको आयआर्जनका लागि सहयोग, २५ शैयाको गाउँपालिकास्तरी अस्पताल निर्माण आगामी कार्यक्रममा राखिएका छन् ।

आगामी वर्ष पनि गाउँपालिकाले सडक निर्माणलाई नै प्राथमिकता दिने भएको छ । हरेक बालबालिकालाई विद्यालय पु¥याउन, विद्यालय भर्ना अभियानलाई सशक्त प्रभावकारी र जनसहभागितालाई अभिवृद्धि गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार १० गते आइतबार