बाँसगढी/ बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वारामा १० महिनाको अवधिमा १८ हजार बढी पर्यटक भित्रिएका छन् । साढे २ करोड बढी राजस्व संकलन भएको छ ।
आर्थिक वर्ष २०७४÷०७५ को साउन महिनादेखि जेठ महिनासम्म आन्तरिक तथा बाह्य पर्यटक गरी १८ हजार बढी पर्यटक भित्रिएका हुन् ।
१० महिनाको अवधिमा २ करोड ४९ लाख १८ हजार ८ सय २३ रुपैयाँ राजस्व संकलन भएको छ । निकुञ्जमा नेपाली १२ हजार ३ सय २९, सार्क ६ सय, विदेशी ५ हजार ५ सय ५८ गरी १८ हजार ४ सय ९७ जना पर्यटक बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गरेको सहायक संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिए ।
१० महिना मध्य चैत्र महिनामा सबैभन्दा बढी ३ हजार २ सय ५५ र सबै भन्दा कम साउन महिनामा ३ सय ९ जना पर्यटक भित्रिएका छन् ।
निकुञ्ज भित्र चोरी सिकारीसम्बन्धी ३३ वटा मुद्दा परेका छन् । ४३ जना पक्राउ र २१ जना फरार छन् । त्यस्तै वन पैदावारसम्बन्धी १९ ओटा मुद्दा परेका छन् ।
६३ जना पक्राउ र १६ जना फरार रहेको प्रतिवेदनमा उल्लेख छ । १० महिनाभित्र १ सय ७३ केजी मासु, ५४ केजी सुकुटी, चित्तल १ र कछुवा १, बन्दुक १ थान र १२ थान गोली बरामद गरिएको छ ।
४१ गोलिया सालको काठ, राँगा गोरुसहित २ ओटा गाडा पनि बरामद गरिएको निकुञ्ज वैशाखसम्मको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्रिय निकुञ्जमा पाठे बाघ, गँैडा, हात्ती, चित्तल, गोही, बाह्रसिंगेजस्ता जंगली जनावर अवलोकन गर्न पर्यटकहरू आउने गरेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्