इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी प्रमुख प्रहरी निरीक्षक चक्रबहादुर डम्बर पाल बाँसगढीको १७÷१८ महिनाको बसाई पछि क्षेत्रिय प्रहरी तालिम केन्द्र नेपालगञ्ज पोष्टिङ भएको छ । बाँसगढी क्षेत्रमा शान्ति सुरक्षा अमनचयनसँगै अन्य सृजनशील कामहरुमा पनि उनको भूमिका प्रशंसनीय
रह्यो । जाँदाजाँदै उनीसँग मिसनकर्मी रावन विश्वकर्माले गरेको कुराकानी ः–
१. १७÷१८ महिना इलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीको प्रमुख भएर बस्दा कस्तो अनुभव भयो ?
म यस कार्यालयमा इन्चार्ज भई काम गर्ने अवसर मिल्यो त्यो नै मेरो सबैभन्दा ठूलो सफलता थियो । समग्रमा मेरो यस कार्यालयको बसाइँमा मेरो व्यावसायिक हिसाबले सफल भएको महसुस गरेको छु । किनभने म यहाँ आइसकेपछि यहाँका नागरिक, बुद्धिजीबी, समाजसेबी, राजनीतिक र सामाजिक व्यक्तित्वहरुको राय सुझाव अनुसार आफ्नो १ वर्षे कार्ययोजना उहाँहरुकै बीचमा मैले निर्माण गरेको थिएँ । हरेक कार्ययोजनाअनुसार मैले आफ्नो कामहरुलाई निरन्तरता दिने प्रयास गरेँ । यथासम्भव म सफल भएँ । प्रहरीको काम मुख्यरुपमा शान्ति सुरक्षा अमनचयन कायम गर्ने र अपराध अनुसन्धान गर्ने नै हो । यसबाहेक प्रहरीले आफ्नो कामहरुको बाबजुत पनि अन्य सिर्जनशील कार्यहरु गर्ने कुरामा पनि मेरो प्रयास रह्यो । त्यसका लागि धेरै सरोकारवाला निकायसँग समन्वय भयो र बाँसगढीको सबै क्षेत्रबाट भरपुर सहयोग मिल्यो । मेरो बाँसगढीको १७ महिने बसाइँ अवधिमा बाँसगढी क्षेत्रमा एउटा ज्यान मुद्दा मात्र फेस गर्नु प¥यो । बाँसगढीमा झैझगडा कुटपिट, मारपिट भन्ने कुरा सबैभन्दा बढी चुनौतीको रुपमा रहन्थ्यो र कुनै पनि चाडपर्व मेला वा कुनै पनि बखतमा मादक पदार्थ खाएर उच्छृंखल, अपराधिक मानसिक भएका व्यक्तिहरु लड्ने झगड्ने जुवातास खेल्नेजस्ता कामहरु शून्य भएको महसुस भएको छ । साथै जनताबाट पनि राम्रो प्रतिक्रिया आएको पाएको छु । मैले प्रहरीको मुख्य काम समाजमा शान्ति सुरक्षा कायम राख्ने र अपराध अनुसन्धान गर्ने काममा मात्र सीमित नरही आफ्नो कार्यकालमा अन्य सृजनशील कार्यहरु जस्तै बहुउद्देश्यीय कबर्ड हल निर्माण, प्रहरी परिसरभित्र नागरिक सहायता कक्ष निर्माण, पक्की भगवती मन्दिरको निर्माण, गोलघरको निर्माण, सवारीसाधनको पार्किङको लागि ग्यारेज ट्रष्ट निर्माण, मूल गेट निर्माण, टेबल टेनिस बोर्ड निर्माणलगायतका कार्यहरु गर्न सफल भएको महसुस गरेको छु ।
२. तपाईंले बाँसगढी क्षेत्रको शान्ति सुरक्षा कायम गर्न कस्ता कार्ययोजना बनाउनु भएको थियो ? अनि कति पूरा भए त ?
बाँसगढी क्षेत्रमा मुख्य चुनौती सडक दुर्घटना, गुन्डागर्दी, लागुऔषध बेचबिखन, प्रयोगकर्ताको वृृद्धि, आत्महत्या, घरेलु हिंसाजस्ता क्रियाकलापहरु मुख्य चुनौतीको रुपमा रहेको बाँसगढीका सम्पूर्ण व्यक्तित्वहरुको राय सल्लाह र प्रतिक्रियाअनुसार त्यही किसिमले मैले कार्ययोजना तयारी गरे । त्यसकारण सवारी मार्ग व्यवस्थापन तथा सडक दुर्घटना नियन्त्रण गर्न धेरै प्रयास गरियो । दुर्घटना हुने स्थानको पहिचान, जनचेतना फैलाउने, आरएस सिसि चेक, मापसे चेकलाई बढावा दिएकाले बिगतको तुलनामा बाँसगढी क्षेत्रमा सडक दुर्घटना धेरै कम भएको छ । त्यस्तै गुन्डागर्दी लागुऔषध नियन्त्रण गर्न एक वर्षभरि नै विद्यालयमा सडकमा बाँसगढी नगरपालिकासँग समन्वय गरेर सचेतनामूलक कार्यक्रमहरु ग¥यौँ । कहाँ लागुऔषध बिक्रि वितरण भइरहेको छ भनेर त्यहीअनुसार चेकिङ पनि राख्यौँ । त्यसैले गुन्डागर्दी र लागुऔषधमा पनि नियन्त्रण भइरहेको छ ।
३. यो आर्थिक वर्षमा बाँसगढीमा कति राजस्व संकलन भयो ?
हामीले धेरै चेकजाँचहरू ग¥यौँ । चेकजाँचलाई धेरै कडाइ ग¥यौँ त्यसैले अस्थाई ट्राफिक प्रहरी र इलाका प्रहरीको संयुक्त चेक जाँचबाट साउनदेखि अहिलेसम्म १० लाख ३९ हजार राजस्व संकलन भयो ।
४. तपाई आएपछि बाँसगढीमै मुद्दा चलाउने अधिकार प्राप्त भयो भन्ने जानकारी आएको छ, यसले आमनागरिकलाई सहजता महसुस भएको छ ?
पक्कै पनि यो कुरा साँचो हो । म यहाँ २०७३ साल पौष महिनामा हाजिरी भए यस कार्यालयमा मुद्दा चलाउने अख्तियारी थिएन । कुनै पनि मुद्दा जिल्लामा रिफर गर्नुपथ्र्याे र जिल्लाबाट मुद्दा चल्थ्यो । यस अर्थमा यहाँका जनताहरुलाई केही कष्ट भएको थियो । किनभने साँक्षीहरु जिल्लामा धाउनुपर्ने, घटना विवरण कागज र हिरासतमा रहेका व्यक्तिहरुलाई भेटघाट गर्न जिल्लामा जानुपथ्र्यो । यो खालको समस्या थियो । ठूलो जनसंख्या रहेका बाँसगढीमा केही असुविधा भइरहेको थियो । मैले के पनि सोचे भने यहाँ मुद्दा चलाउने अधिकार प्राप्त भएमा नागरिकहरुलाई सुविधा हुने थियो । र, अपराधमा यहाँ जुनखालको बिगबिगी थियो, त्यो पनि यहाँबाट मुद्दा चलेपछि यहाँबाट पनि मुद्दा चल्छ है भनेर अपराधिहरुको मनस्थिति पनि कम भएको छ । साउनको महिनामा लेखापढी गरेर आर्थिक वर्ष २०७४।०७५ प्रहरी प्रधान कार्यालयबाट मुद्दा चलाउने अख्तियारी प्राप्त भयो । हालसम्म अहिले ६८ ओटा हामीले मुद्दा दर्ता गरिसकेका छाँै । यदि यी मुद्दा यहाँ नचलेको भए सबै जिल्लामा जानु पथ्र्याे । झन्झटिलो हुन्थ्यो । खर्चिलो हुन्थ्यो । नागरिकहरुलाई असुविधा पनि हुन्थ्यो । त्यसैले अहिले नागरिकहरुले केही सुविधाको महसुस पक्कै गरेका छन् ।
५. बाँसगढीमा कस्ता खालका मुद्दा आएका छन् ?
यहाँ विशेष गरी आत्महत्याको मुद्दा बढी हुन्छ । यो आर्थिक वर्षमा आत्महत्यालगायत मुख्य गरी भवितव्य ज्यान, जबर्जस्ती करणी, सवारी ज्यान, केही सार्वजनिक अपराध शीर्षकमा मुद्दा दर्ता भएका छन् ।
६. बाँसगढी क्षेत्रमा शान्ति सुरक्षा चुनौती के छन् ? कसरी नियन्त्रण गर्न सकिएला ?
बाँसगढीमा सवारी दुर्घटना, गुन्डागर्दी, लागुपदार्थ दुव्र्यसन, घरेलु हिंसा लगायतका चुनौती छन्, जसमा सवारी दुर्घटना न्यूनीकरणको लागि सडक सचेतना कार्यक्रम अन्तर्गत सडक सुरक्षासम्बन्धी पर्चा पम्प्लेट, विद्यालय सचेतना कार्यक्रम, आरएससिसी चेकिङ मापसे चेकिङ, भिग्रस चेकिङ, आकस्मिक चेकिङ यातायात मजदुरहरुलाई सडक चोकमै घण्टे प्रशिक्षण, सडक छेउमा सूचनामूलक बोर्ड तथा तस्बिरहरुको निर्माणलगायतका क्रियाकलापबाट तुलानात्मक रुपमा सडक दुर्घटना न्यूनीकरण हुन्छ । त्यस्तै गुन्डागर्दी तथा लागुऔषध दुव्र्यसनी नियन्त्रणका लागि नियमित गस्ती पट्रोलिङ, विद्यालय सचेतना कार्यक्रम सञ्चालन, चेतनामूलक सडक नाटक तथा ¥याली प्रदर्शन, गुन्डागर्दी बढी हुने स्थानहरूको पहिचान गरी कडाइका साथ त्यस्ता ठाउँहरुमा मोबाइल तथा पैदल गस्ती गराई त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कारबाही गर्नाले नियन्त्रण हुन सक्छ । घरेलु हिंसा न्यूनीकरणको सम्बन्धमा भन्नु पर्दा नगरस्तरीय महिला सञ्जाल तथा अन्य सरोकारवाला निकायहरुसँग सहकार्य गरी अभिमुखीकरण कार्यक्रमहरु गर्दा मानिसहरुमा चेतना जाग्ने र न्यूनीकरणको दिशातर्फ उन्मुख हुने गर्दछ ।
७. अन्त्यमा, बाँसगढीवासीले के भन्नुहुन्छ ?
इलाका प्रहरी कार्यालय बाँसगढीमा प्रहरी इन्चार्जको रुपमा रहँदा मलाई प्रत्यक्षअप्रत्यक्ष रुपमा सहयोग तथा आवश्यक सल्लाह दिनु हुने, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, बाँसगढी उद्योग वाणिज्य संघ, समाजसेवी, बुद्धिजीबीलगायत आमनागरिकहरुलाई हृदयदेखि धन्यवाद दिन चाहान्छु ।









प्रतिक्रिया दिनुहोस्