विद्यालयको वाल पेन्टिङले गुणस्तरीय शिक्षामा वृद्धि



रावन बिश्वकर्मा : बाँसगढी,२० जेठ/  ‘अभिभावक ज्यू नमस्कार । कता हिँड्नु भयो ? एकचोटी विद्यालयमा प्रवेश गरी आफ्ना नानी बाबुहरुको पढाइलेखाइ, चालचलनबारे पनि छलफल गरौँ की ?’ यो कुनै व्यक्तिको भनाइ होइन ।

बर्दिया बाँसगढी–६ दमौलीमा रहेको जनप्रिय माध्यमिक विद्यालयको पर्खालमा लेखिएको वाल पेन्टिङ हो । यो वाल पेन्टिङले अहिले दमौलीका अभिभावकहरुको घैँटोमा घाम लागेको छ ।

पहिले विद्यालयमा आफ्नो छोराछोरी पढे नपढेकोबारे जानकारी लिन, उनीहरुको चालचलन, बानीव्यहोरा र छोराछोरी विद्यालयसम्म पनि जान्छन् की जाँदैनन् भन्ने कुरा बुझ्न अभिभावक विद्यालय भित्र छिर्दैन्थे ।

तर, अहिले विद्यालयको अगाडि वाल पेन्टिङ लेखिएकै कारण सबैको ध्यानाकर्षण गरेको छ । अधिकांश सामुदायिक विद्यालयमा आफ्ना छोराछोरीको भर्नापछि अभिभावकहरु विद्यालयसम्म पुग्दैनन् ।

शिक्षकहरुले पढाइरहेका छन् की छैनन्, मेरो बच्चा विद्यालयसम्म पुगिरहेको छ की छैन । कतै ऊ विद्यालयको नाममा अन्यत्र गइरहेको छ की भन्ने पनि कति अभिभावहरुलाई पत्तो हुँदैन । तर, बाँसगढीको दमौलीको विद्यालयमा लेखिएको कुराले दमौलीका अभिभावकहरु भने केही जागरुक भएका छन् ।

अहिले विद्यालयमा अभिभावकहरु आफ्नो छोराछोरीको पढाइलेखाइप्रति विद्यालयमा नियमित बुझ्न आउने गरेको जनप्रिय माध्यमिक विद्यालय दमौलीका प्रधानाध्यापक सर्बिस शर्माले बताए ।

उनले भने, ‘विद्यालयको हातामा वाल पेन्टिङमा लेखिएको शब्दले सबैको ध्यानाकर्षण गरेको छ । अहिले दिनमा ४÷५ जना अभिभावकहरु आफ्नो छोराछोरीको पढाइलेखाइ चालचलन बुझ्न विद्यालयमा आउने गरेको र विद्यालयलाई पनि सल्लाह सुझाव दिने गरेका छन् ।’

अभिभावकहरुले दिएको सल्लाह सुझाव अनुसार पठन पाठनमा सुधार भइरहेको र यो शैक्षिक सत्रमा अन्य शैक्षिक सत्रभन्दा बढी विद्यार्थीहरु भर्ना भएको समेत विद्यालय प्रशासनले जनाएको छ । विद्यालयको हाता भित्रै वाल पेन्टिङ बनाएर अभिभावकहरुको ९ बुँदे प्रतिबद्धता समेत लेखिएको छ ।

प्रतिबद्धतामा विद्यालय हाताभित्र धुम्रपान, मद्यपान, लागु पदार्थ सेवन गरी प्रवेश नगर्ने, लैङ्गिक विभेद नगरी आफ्ना बच्चा बच्चीलाई नियमित स्कुल पठाउने, कम्तीमा ३ महिनामा एक पटक विद्यालयमा आई आफ्ना बालबालिकाहरुको प्रगतिबारे जानकारी लिने लगायत रहेका छन् ।

हाल विद्यालयमा ६ सय ४ जना विद्यार्थीहरु रहेका छन् । विद्यालयमा १८ जना विषयगत शिक्षक, प्राविधिक तर्फ ३ जना शिक्षक १ जना लेखापाल र २ जना पियन् गरी २४ जना कर्मचारी रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ २० गते आइतबार