महिला कप फुटबल प्रतियोगिता सुरु



रावन बिश्वकर्मा : बाँसगढी,११ जेठ/  बर्दिया बाँसगढीको दमौलीमा क्षेत्र स्तरिय प्रथम दमौली महिला कप फुटबल प्रतियोगिता सुरु भएको छ ।“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नारा सहित जनजागृति समाज कल्यान युवा क्वल दमौलीकोे आयोजनामा जिल्ला फुटबल सँघ बर्दिया र बाँसगढी नगरपालिकाको सहयोगमा बर्दिया मै पहिलो पटक क्षेत्र स्तरिय महिला कप फुटबल प्रतियोगिता सञ्चालन भएको हो ।बिहिबार प्रदेश नम्बर ५ का सदस्य कबिराम थारुले प्रतियोगिताको बिधिबत रुपमा उद्घाटन गरेका छन् । 

जनजागृती समाज कल्याण युवा क्लव दमौलीका अध्यक्ष नवराज गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश सदस्य कबिराम थारु, बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारी, जिल्ला खेलकुद बिकास समिति बर्दियाका अध्यक्ष खगेन्द्र खनाल, एन्फाका केन्दिय सदस्य प्रदेश सिह राठोर, जिल्ला फुटवल सँघ बर्दिया अध्यक्ष अजितराज भण्डारी, महिला सदस्य मिना थापा, बाँके जिल्ला फुटबल सँघका अध्यक्ष भोजराज शाही, वडा नम्बर ६ का वडा अध्यक्ष दशरथ थारु, वडा सदस्यहरु शान्तादेबि गुरुङ, लालबहादुर थारु, बुद्धिमाया नेपाली, ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी नायव निरक्षक रबिलाल अस्लामी, नगर स्तरिय युवा सञ्जालका अध्यक्ष एकनारायण अधिकारी, बिभिन्न बिद्यालयका प्रधानाध्यापकहरु लगायत खेल प्रशिक्षक, खेलाडी र खेलप्रमिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

बर्दिया जिल्लालाई महिला फुटबलको माध्यमबाट राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरमा पहिचान गराउने उदेश्यले प्रतियोगिता आयोजना गरेको क्लवका सचिव पवन गुरुङले बताए । जेठ १० देखि १५ गतेसम्म बासगढी नगरपालिका वडा नम्बर ६ स्थित गुरुंङ्ग डाइभिंग एण्ड ट्रेनिङ्ग सेण्टर प्रा.लि.को ग्राउण्डमा प्रतियोगिता संचालन भएकोे छ । प्रतियोगितामा बर्दिया, बाँके, दाङ, दैलेख र सुर्खेत गरि पांच जिल्लाका ७ वटा टिमको सहभागीता रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई शिल्ड मेडल सहित ५० हजार १, उपबिजेतालाई शिल्ड मेडलसहित ३० हजार १, सेमीफाईनलमा पुग्ने २ वटा टिमलाई प्रमाण पत्र सहित १० हजार नगद पुरस्कार दिईने आयोजक संस्थाका कृष्ण गुरुङले जनाए ।

यस्तै उत्कृष्ट खेलाडिलाई नगद रु ५ हजार, उत्कृष्ट फरवार्ड, गोलकिपर, डिफेन्स, सर्वाधिक गोलकर्तालाई ३ हजार पुरस्कार प्रदान गरिने छ । फुटबलको विकास गर्न, स्वास्थ्य नागरिक तैयार गर्न र बर्दिया जिल्लाको पहिचान बढाउन निजी लगानीमा गुरुंङ्ग डाइभिंग एण्ड ट्रेनिङ्ग सेण्टर प्रा.लि दमौली र र पुर्ण गार्ड सेक्युरेटी सर्भिस प्रा.लि काठमाडौको मख्य प्रायोजनमा प्रतियोगिताको आयोजना गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ११ गते शुक्रबार