सुरक्षित प्रसुती सेवा सञ्चालनमा आउने



कोहलपुर,८ जेठ/  बाँकेको बैजनाथ गाउँपाकास्थित चिसापानी स्वास्थ्यचौकीले जेठ मसान्त भित्र सुरक्षित प्रसुती केन्द्र सञ्चालनमा ल्याउने भएको छ ।

मंगलबार चिसापानीमा आयोजना गरिएको स्वास्थ्य चौकी सामाजिक परीक्षण कार्यक्रममा सो कुराको जानकारी गराइएको हो । साथै कार्यक्रममा ६ बुँदे कार्ययोजना समेत निर्माण गरिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको सहयोग तथा बास नेपालगन्जको आयोजनामा सम्पन्न आम भेलाले वडाको तल्लो करेली स्थित दलित समुदायमा स्वास्थ्यको विषयमा जेठको अन्तिम साता समुदायस्तरीय अन्तरक्रियात्मक अभिमुखीकरण गर्ने, सोही समुदायमा हरेक महिनाको १५ गते आमा समुह बैठक गर्ने, औषधिको नियमित आपूर्तिका लागि गाँउपालिकासँग पहल गर्ने, जेष्ठ भित्र वडामा रहेका गाँउघर क्लिनीकहरुमा आवश्यक सामाग्रहरु उपलब्ध गराई व्यवस्थित गर्ने र आर्थिक वर्ष २०७५÷०७६ भित्र स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालनको लागि पहल गर्ने योजना निर्माण गरिएको छ ।

कार्यक्रममा स्वास्थ्यचौकीका ईन्चार्ज धननाथ योगीले चिसापानी स्वास्थ्य चौकीले गरेका क्रियाकलापहरुको प्रगति विवरण तथ्याङ्क सहित गरेका थिए भने कार्यालय अवलोकन, स्वास्थ्य व्यवस्थापन समिति, कर्मचारी, सेवाग्राही तथा लक्षित समुहसँग भएको अन्तरक्रिया तथा छलफलबाट प्राप्त तथ्यहरुको बारेमा सामाजिक परिक्षक हेमराज भट्टले जानकारी गराएका थिए ।

आम भेलाको खुल्ला छलफलमा सहभागीहरुले पहिलेको तुलनामा स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवा सुविधा राम्रो रहेको बताएका थिए ।

यस्तै मंगलबार नै खजुराखुर्द स्वास्थ्य चौकीको सामाजिक परीक्षण कार्यक्रम अन्तर्गत आम भेला सम्पन्न भएको छ ।

आमभेलाले आर्थिक बर्ष २०७५÷२०७६ भित्र बर्थिङ्ग सेन्टर निर्माण गर्ने, वडामा कार्यक्रम हलको निर्माण गर्ने, स्वास्थ्य जागरण कार्यक्रमहरु सञ्चालन गर्ने कार्ययोजना निर्माण गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ८ गते मंगलबार