3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

एमाले र माओवादी केन्द्रबीच ऐतिहासिक पार्टी एकता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ ३, २०७५  

काठमाडौं,३ जेठ/  नेकपा एमाले र माओवादी केन्द्रबीच ऐतिहासिक पार्टी एकता भएको छ ।

बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकबाट दुवै पार्टी विघटन गरी ‘नेपाल कम्युनिष्ट पार्टी’ पुनर्गठन घोषणा गरिएको हो ।

योसँगै नेपाली कम्युनिष्ट आन्दोलनको ७० वर्षे इतिहासमा पहिलोपटक विशाल कम्युनिष्ट पार्टी बनेको छ । नव गठित नेपाल कम्युनिष्ट पार्टीको अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल रहेका छन् ।

दुवै अध्यक्षले बालुवाटारमै एक–अर्कालाई शपथग्रहण गराए भने त्यसलगत्तै दुवैजनाले नयाँ पार्टीमा समेटिएका केन्द्रीय सदस्यहरुलाई सामूहिकरुपमा शपथ गराए ।

नवगठित पार्टीमा ९ जनाको सचिवालय बनाइएको छ । जसमा केपी शर्मा ओली, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल रहेका छन् ।

सचिवालयको महासचिवमा विष्णु पौडेल र प्रवक्तामा नारायणकाजी श्रेष्ठलाई तोकिएको छ । नयाँ पार्टीलाई निर्वाचन आयोगले बिहीबारै दर्तासमेत गरिसकेको छ ।

त्यसपछि राष्ट्रिय सभागृहबाट पार्टी एकताको औपचारिक घोषणा गरिएको हो । नयाँ पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’मा ४४१ जना केन्द्रीय सदस्य रहेका छन् । जसमध्ये २४१ जना एमालेबाट र २०० जना माओवादी केन्द्रबाट रहेका छन् ।

त्यसैगरी, एमालेबाट २६ र माओवादीबाट १९ जना गरी ४५ सदस्यीय स्थायी समिति पनि बनाइएको छ । केन्द्रीय कमिटीमा माओवादीले ४५ प्रतिशत भाग पाएको छ । पोलिटब्यूरो भने तत्काल बन्ने छैन ।

नवगठित पार्टीको चुनाव चिह्न सूर्य हुनेछ । पार्टीको निर्देशक सिद्धान्त ‘मार्क्सवाद–लेलिनवाद’ हुने जनाइएको छ । ‘जनताको जनवाद’लाई कार्यनीति मान्दै ‘समाजवादउन्मुख समावेशी लोकतन्त्र’लाई संस्थागत गरिने बताइएको छ ।दुई वर्षपछि एकता महाधिवेशन गर्ने सहमति गरिएको छ ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ ३, २०७५     7:31:08 PM  |