दाङ,२९ बैशाख/ दाङको नारायणपुरमा शनिबार देखी तेस्रो नारायणपुर कप फुटबल प्रतियोगिता सुरु भएको छ । न्यू स्टार फुटबल एकेडेमीको आयोजना र घोराही उपमहानगरपालिकाको प्रर्बद्धनमा आयोजित प्रतियोगिताको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उद्घाटन गरेका छन्।
एकेडेमीका अध्यक्ष खुमबहादुर वलीको अध्यक्षता एवं नगर प्रमुख चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले खेलकुदको विकासमा स्थानिय सरकारले देखाएको चासो प्रति खुसी व्यक्त गरेका छन् ।
कार्यक्रममा नगर प्रमुख चौधरीले खेलकुदको विकासका लागि लगानी गर्न तयार रहेको बताए। विभिन्न खेलहरुको सञ्चालनका लागि नगरमा रंगशाला बनाउने प्रकृयाहरु सुरु भएको भन्दै उनले तीन वटै तहका सरकारहरु प्रतिबद्ध रहेको बताए । खेलकुदमा देखाईने अनुशासनले समाजलाई समेत सकारात्मक मार्गमा डो¥याउने समेत उल्लेख गरेका छन् ।
नगर प्रमुख चौधरीले छिट्टै मेयरकप फुटबल प्रतियोगिता सुरु गर्ने समेत जानकारी दिएका छन् ।
कार्यक्रममा जिल्ला फुटबल संघका अध्यक्ष शुसिल श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, फुटबल संघका सदस्य अनिलकुमार बस्नेत र एकेडेमीका सचिब विनोद विक लगाएतकाले बोलेका थिए ।
उद्घाटन खेलमा आयोजक न्यू स्टार विजयी
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक न्यू स्टार फुटबल एकेडेमी नारायणपुर विजयी भएको छ । बबई फुटबल क्लबसँग भएको खेलमा १ का विरुद्ध ३ गोलले न्यू स्टार विजयी भएको हो ।
प्रतियोगितामा न्यू स्टारको तर्फबाट जर्सी नम्बर ७ का मनिष पाण्डेले २ र जर्सी नम्बर ८ का दोर्ण योगीले १ गोल गरेका थिए भने बबई क्लबको तर्फबाट जर्सी नम्बर ३ का दुर्गा घर्तिले गोल गरेका थिए ।
यस्तै दोस्रो खेलमा एसएसएफए तुलसीपुर विजयी भएको छ । एसएसएफए तुलसीपुर र यूएनविसी घोराहीविच भएको खेलमा एसएसएफए तुलसीपुर १ का विरुद्ध ४ गोलले विजयी भएको हो ।








प्रतिक्रिया दिनुहोस्