यानबी साहु/ कोहलपुर,२७ वैशाख/ भन्सार छलि गरेर ल्याएको प्रतिवन्धित सुर्तीजन्य पदार्थसहति बुधबार बिहान कोहलपुरबाट एक युवक पक्राउ परेका छन् ।
बर्दियाको बढैयाताल गाउँपालिका–७ बस्ने १८ वर्षिय निराज पासी भन्सार छलि ल्याएको सुर्तीजन्य पदार्थसहित कोहलपुर बसपार्कबाट पक्राउ परेका हुन् ।
उनलाई विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक निरञ्जन घिमीरेको कमाण्डमा खटिएको टोलीले बुधबार बिहान पौंने दश बजेतिर पक्राउ गरेको हो ।
उनको साथबाट करिब ६० हजार बराबरको पाँच बोरा सुर्तीजन्य पदार्थ र गर्मी समयमा पिउने चुसी (सर्वत)को प्याकेट सहित बरामद् गरिएको हो ।
पक्राउ परेका पासी माथि थप अनुसन्धान गरी र सामानसहित उनलाई बुधबार नै भन्सार कार्यालय नेपालगन्जमा बुझाइएको प्रहरी निरीक्षक घिमीरेले जानकारी दिए । पक्राउ परेका पासीले भारतबाट भन्सार छलि गरी विभिन्न सुर्तीजन्य पदार्थ नेपालमा ल्याएर बेच्ने गरेको पाइएको छ ।
यस्तै यसअघि दुई दिन पहिले पनि कोहलपुरको एनटीभी चोकबाट भन्सार छली गरेर ल्याएको ठूलो परिणामको कपडा प्रहरीले बरामद् गरेको थियो ।
उक्त ठूलो परिणामको सामान सुर्खेत लैजानका लागि अटोरिक्सा राखेर एनटिभी चोकतर्फ लिइरहेको अवस्थामा बरामद् गरिएको थियो ।
सो सामान डेढ लाख बराबरको रहेको र बरामद् गरेको भोलि पल्टनै भन्सार कार्यालय नेपालगन्जमा बुझाइएको कोहलपुर प्रहरीले जनाएको छ ।