कविन्द्र परियार : कोहलपुर,१२ वैशाख/ सामुदायिक विद्यालयले कक्षा–८ सम्म पठन पाठनका लागि विद्यार्थीबाट कुनैपनि शुल्क नलिन राप्तीसोनारी गाउँपालिकाको शिक्षा समितिले निर्देशन दिएको छ ।
गाउँपालिका अन्तर्गतका विद्यालयमा आधारभुत तह कक्षा–८ सम्म शुल्क लिएको गुनासो आएपछि गाउँपालिका अध्यक्ष एवम् शिक्षा समितिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा सम्पन्न बैठकको निर्णयबाट आधारभुत तहसम्म कुनै पनि शुल्क नलिन निर्देशन दिएको हो ।
प्रचलित शिक्षा ऐन÷नियमले स्पष्ट रुपमा कक्षा–८ सम्म निःशुल्क व्यवस्था गरेको हुँदा आधारभूत तहसम्म निःशुल्क गर्ने निर्देशन दिएको गाउँपालिका अध्यक्ष थारुले बताए ।
विद्यालयको समस्यालाई मध्यनजर गरी गाउँपालिकाबाटै शिक्षक व्यवस्थापन तथा अन्य शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सहयोग गर्ने भएकाले सबै विद्यालयलाई निःशुल्क सञ्चालन गर्नका लागि निर्देशन गरिएको तथा शुल्क लिइसकेको अवस्था भए सो शुल्क फिर्ता गर्न लगाउने निर्णय भएको समितिका सदस्य सचिव एवम् स्रोतव्यक्ती विष्णु प्रसाद शर्माले जानकारी दिए ।
यस्तै बैठकले साविक जिल्ला शिक्षा कार्यालय बाँकेबाट प्राप्त बाल विकास केन्द्रहरु मध्ये सञ्चालनमा रहेका र नरह्ेका अवस्था निक्र्यौल गरी पुनः वितरण गर्ने निर्णय पारित गरिएको छ ।
२०७५ सालको नयाँ शैक्षिक शत्रको भर्ना अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि प्रत्येक विद्यालयको ‘क्याचमेन्ट एरिया’ मा सघन अभियान सञ्चालनका लागि सम्बन्धित वडापालिकाको अनुगमन सहित अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।
कुनै विद्यालयको पहुँच क्षेत्रका बालबालिकाहरु कुनै कठिन परिस्थितिले वञ्चित भएको भए सो कारण तथा तथ्याङ्क गाउँपालिकामा पठाउनका लागि सम्पूर्ण प्रधानाध्यापकलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै राप्तीसोनारी गाउँपालिकाअन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुले थप एक कक्षाको अनुमति माग गरेकाले सो सम्बन्धमा सामुदायिक विद्यालयको कक्षा ९ र संस्थागत विद्यालयको कक्षा थप गाउँपालिकाले पास गरेको कार्यविधी अनुसार कार्यपालिकाको निर्णय बमोजिम कक्षा थपको अनुमति दिनका लागि सिफारिस गर्ने निर्णय गरिएको छ ।
साथै कार्यविधीको मस्यौदा गाउँपालिका शिक्षा शाखाले एक हप्ताभित्र तयार गरी पेश गर्ने निर्णय गाउँपालिकाको शिक्षा समितिले गरेको छ ।








प्रतिक्रिया दिनुहोस्