10 September 2024  |   मङ्लबार, भदौ २५, २०८१

नेपलगन्ज कपमा बर्दिया टाइगर्स र रोल्पा गोरिल्लाज विजयी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख ६, २०७५  

कोलपुर,६ वैशाख/ आशिर्बाद पेन्ट्स नेपालगञ्ज कप टि-२० क्रिकेट प्रतियोगिताको चौथो दिन विहिवार भएको पहिलो खेलमा अर्घाखाची सिमेन्ट्स बर्दिया टाइगर्सले आर्शिवाद पेन्ट्स पाल्पा योद्धाजलाई ८ रनले पराजित गर्दै आफ्नो दोश्रो खेलमा पहिलो जित हाँसिल गरेको छ ।

पाल्पाको यो लगातार दोश्रो हार हो। टस हारेर ब्याटिंग गरेको बर्दिया टाइगर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४१ रनको योगफल तयार गरेको थियो।

उसको लागि कप्तान शुबेन्दु पाण्डेले सर्वाधिक ३६ रन बनाउन ३६ बलमा ४ चौका र १ छक्का प्रहार गरे भने बिश्वास श्रेष्ठले अविजित २१ रन बनाए। यस्तै आकाश बिस्टले १८ तथा नबिन ओलीले १७ रन योगदान दिए । पाल्पा योद्धाजका बलर विजय चौधरीले सर्वाधिक २ विकेट लिन ४ ओभरमा ३३ रन खर्चिए ।

अमित तामांग, भिम धमला र यस हमालले समान १र१ विकेट हात पारे।जवाफमा १४२ रन लक्ष्य पछ्याएको आर्शिवाद पेन्ट्स पाल्पा योद्धाजले पुरा २० ओभर ब्याटिंग गर्दा ८ विकेट गुमाएर १३३ रन मात्रै बनाउन सक्यो । अनुपम सिंहले अविजित ४४ रन तथा प्रनित थापाले ३९ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन। अनुपमले ३७ बलमा १ छक्का र ६ चौका तथा प्रनितले ३१ बलमा ५ चौका र १ छक्का हिर्काए ।

अर्घाखाची सिमेन्ट्स बर्दिया टाइगर्सका बलर राजबिर सिंह, अविनाश बोहारा र भरत थापाले समान २,२ विकेट हात पारे। खेलको प्लेयर अफ द म्याच शुबेन्दु पाण्डे घोषित भए ।

त्यस्तै दोश्रो खेलमा हाम्रो दोस्रो जित संगै पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजले जिसान बांके ब्लास्टर माथि ७९ रनको विशाल जित हासिल गरेको छ ।टस जितेर ब्याटिंग गरेको पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजले निर्धारित २० ओभरमा मात्र ३ विकेट गमाुएर १७२ रनको योगफल तयार गरेको थियो।

ओपनिंग ब्याटिंग गरेका सौरभ खनालले अर्धशतकीय इनिंग खेल्दै टिमलाई उत्कृष्ट सुरुवात दिलाएका थिए। ४५ बलमा ६ चौका र २ छक्का मद्दतले ५३ रन बनाएका सौरभ खनालले पहिलो विकेटको लागि आकाश थापासंग ९५ रनको साझेदारी गरेका थिए। थापाले रन बनाउन ३७ बलमा ४ चौका हिर्काए। पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजलाई बिशाल योगफलतर्फ डोर्याउन भिम शार्कीले अविजित आक्रामक ४६ रन योगदान दिए।

उनले मात्र १४ बलको इनिंगमा ६ चौका र ३ छक्का प्रहार गर्नेक्रममा उत्कृस्ट सटहरु खेले। यस्तै सम्सुदीन अन्सारीले अविजित २३ रन योगदान दिए। जिसान बाँके ब्लास्टर्सका लागि सोनु तामांग र अख्तर हुसेनले समान १,१ विकेट हात पारे। १७२ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको जिसान बांके ब्लास्टरको राम्रो सुरुवात रहेन । जिसान बांके ब्लास्टरका लागि अजय सहानीले २० रन,महेश क्षेत्रीले १७ रन र सोनु तामांगले १६ रन बनाए ।

पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजका लागि विनोद लामाले ३ विकेट लिए भने आकाश थापा र मेराज अन्सारीले समान २,२ विकेट लिए । पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजका ५३ रनको अर्धशतकिय पारी खेलेका कप्तान सौरभ खनाल म्यान अफ म्याच घोषित भए ।

शुक्रवार हुने पहिलो खेल अर्घाखाची सिमेन्ट्स बर्दिया टाईर्गस र एन आई सि एसिया दंगाली गोर्खाज र दोस्रो खेल आर्शिवाद पेन्ट्स पाल्पा योद्याज र आर्शिवाद पेन्ट्स रोल्पा गोरिल्लाज बिच हुने आयोजकका तर्फबाट प्रबन्ध निर्देशक मोहम्मद रफि एराकीले जानकारी दिए ।प्रतियोगिताका विजेताले एक लाख दस हजार तथा उप विजेताले साठी हजार पाउने टुर्नामेन्ट डाईरेक्टर सौगात विक्रम शाहले जानकारी दिए ।

प्रकाशित मितिः बिहिबार, बैशाख ६, २०७५     7:40:29 PM  |