कोहलपुर,५ बैशाख/ आशीर्वाद पेन्ट्स नेपालगन्ज कपको मंगलबार भएको खेलमा एबरोल टीएमटी लुम्बिनी यात्रीजले जित हासिल गरेको छ । कोहलपुर क्रिकेट मैदानमा जारी प्रतियोगिताको दोस्रो दिन भएको पहिलो म्याचमा एबरोल टि एम टि लुम्बिनी यात्रीजले ६ विकेटले जितेको छ ।
पहिलो खेलमा टस जितेर लुम्बिनी यात्रीजले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङको निम्तो पाएको जिसान बाँके ब्लास्टरको सुरुवात गरेको थियो । जिसान बाँके ब्लास्टरका कप्तान प्रज्वल शाहीले १२ रन बनाए भने सुदिप नेपाली र अख्तर हुसैनले १३÷१३ रन बनाएका थिए ।
छैठौ ब्याट्सम्यानको रुपमा मैदानमा प्रवेश गरेका सोनु तामाङले भने आक्रामक पारी खेल्दै जम्मा १७ बलमा ५८ रनको अर्धशतकीय पारी खेलेका थिए । जसमा आठवटा छक्का र एउटा चौका प्रहार गरेका थिए । निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै जिसानले १३८ रन बनाएको थियो ।
लुम्बिनी यात्रीजका लागि सुनिल सुनार, बासिर एहमद र निजामुद्दिन हल्वाईले २÷२ विकेट लिन सफल भए । १३९ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको लुम्बिनी यात्रीजले ७ बल अगाडि विजय प्राप्त ग¥यो ।
जसका लागि ओपनर ब्याट्सम्यान विशाल खत्रीले ४६ बल खेल्दै ६६ रन बनाएका थिए भने बसिर अहमदले १६ बल खेल्दै ३५ रन बनाएका थिए । जिसानका लागि गोपाल सिंहले दुई विकेट लिएका थिए । अर्धशतकीय पारी खेलेका यात्रीजका ६६ रन बनाएका विशाल खत्री म्यान अफ द म्याच घोषित भएका थिए ।
त्यस्तै दोस्रो खेलमा एनआइसी एसिया दंगाली गोर्खाजले पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजलाई ६ विकेटले पराजित गरेको छ । गोर्खाजले पहिले टस जितेर फिल्डींग रोजेको थियो । पहिलो इनिङमा ब्याटिङमा उत्रेको पप्पुु कन्स्ट्रक्सन रोल्पा गोरिल्लाजका लागि भने राम्रो सुरुवात रहेन ।
कप्तान सौरभ खनालले ३८ बल खेल्दै ३६ रन बनाए । रोल्पाका उप कप्तान तथा विकेट किपर सम्मसुद्दिन अन्सारीले ११ तथा शेर ओलीले १० रन बनाए । अन्य ७ ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् । दंगाली गोर्खाजको निकै आक्रामक फिल्डिङमा बलर सागर ढकालले ४ विकेट तथा विष्णु कटारियाले ३ विकेट लिए ।
१८ दशमलव ५ ओभरमा आफनो सम्पूर्ण विकेट गुमाउँदै गोरिल्लाजले ९५ रन बनाएको थियो । जवाफमा ९६ रनको विजय योगफल लिएर मैदानमा उत्रेको गोर्खाजले आक्रामक ब्याटिङ गर्दै ओपनर सन्दिप सुनारले १९ बलमा ३६ रन बनाए भने उपकप्तान विनायक गिरी र सुजन पुनले समान १६ रन बनाए । १४ ओभरमा ४ विकेटको क्षतिमा दंगाली गोर्खाजले जित निकालेको हो । दंगाली गोर्खाजका सागर ढकाल म्यान अफ द म्याच घोषित भए ।
सोमबारबाट सुरु भएको आशीर्वाद पेन्ट्स नेपालगन्ज कपमा आज –बुधबार) हुने पहिलो खेल एबरोल टीएमटी लुम्बिनी यात्रीज र एनआइसी एसिया दंगाली गोर्खाज र दोस्रो खेल पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज र अर्घाखाँची सिमेन्ट्स बर्दिया टाइगर्सबीच हुने टुर्नामेन्ट डाइरेक्टर सौगात विक्रम शाहले जानकारी दिए । प्रतियोगिताको विजेताले एक लाख १० हजार तथा उपविजेताले ६० हजार नगद पाउने प्रतियोगिताका प्रबन्ध निर्देशक मोहम्मद रफि एराकीले बताए ।








प्रतिक्रिया दिनुहोस्