खेल्दै सिक्ने केन्द्र एक वर्ष थप



नेपालगन्ज,२ बैशाख/  बाल श्रममा लागेका, विद्यालय बाहिर रहेका तथा भर्ना भएर विचमै पढाई छोडेका बालबालिकालाई लक्षित गरेर गत दुई वर्षदेखि नेपालगन्जमा सञ्चालन भैरहेको खेल्दै सिक्ने केन्द्रलाई थप एक वर्ष सञ्चालन गर्ने गरी त्रिपक्षीय सम्झौता भएको छ ।

हाल नेपालगन्जका दुई वटा स्थानमा सञ्चालनमा रहेका खेल्दै सिक्ने केन्द्रलाई फेज आउट योजना बनाएर एक वर्षपछि उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने र त्यसपछि उपमहानगरपालिकाले सञ्चालन गर्ने गरी समुन्नत नेपाल, नेपालगन्ज उपमहानगरपालिका र बाँके युनेस्को क्लबबीच त्रिपक्षीय सम्झौता भएको हो ।

सो सम्झौता पत्रमा नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी प्रमुख अधिकृत हरी प्याकुरेल, समुन्नत नेपालका योगेश श्रेष्ठ र बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा उपमहानगरका प्रमुख डा. धवल शमशेर राणाले नेपालगन्जलाई बालश्रममुक्त र बालमैत्री उपमहानगरपालिका बनाउने अभियानमा आफुहरु लागेको जनाउँदै सो अभियानलाई सफल बनाउन खेल्दै सिक्ने केन्द्रले प्रमुख भूमिका निर्वाह गरेको बताए ।

उनले एक बर्षपछि उपमहानगरपालिकाले आफै ती केन्द्रलाई संचालन गर्ने जनाउँदै कोही पनि बालबालिका पढाईबाट बन्चित नहुन् भन्ने उदेश्यका साथ काम गरिरहेको बताए ।

युनिसेफको आर्थिक सहयोग र नेपालगन्ज उपमहानगरको समन्वयमा बाँके युनेस्को क्लबले गत २ वर्षदेखि नेपालगन्जको सल्यानी काग र महेन्द्रपार्क नजिक खेल्दै सिक्ने केन्द्र सञ्चालन गर्दै आएको छ ।

आफुलाई फुर्सद भएको बेला विद्यालय बाहिर रहेका र विभिन्न श्रममा लागेका १० वर्षमाथिका बालबालिकाले ती केन्द्रमा गएर पढ्ने तथा पछि उनीहरुलाई विद्यालयमा भर्ना गराउने गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताए ।

नेपालगन्जमा संचालनमा रहेका ती दुईवटा केन्द्रमा हाल करिब ४५ जना बालबालिकाले आफुलाई पायक पर्ने विभिन्न समयमा आएर पढ्ने गरेको उहाँले बताए । ती मध्ये करिब २५ जनालाई यस वर्ष विद्यालयमा भर्ना गराउने तयारी रहेको छ ।

खेल्दै सिक्ने केन्द्रका कारण विद्यालय बाहिरका बालबालिकाहरु विद्यालयमा भर्ना हुन थालेपछि सेभ द चिल्ड्रेनको सहयोगमा क्लबले संचालन गरेको सहयात्रा परियोजनामा पनि सोही प्रकारको केन्द्र वडा नम्बर ८ मा स्थापना गरेर मेरो पहिलो विद्यालय नाम दिएर एउटा केन्द्र सञ्चालन गरिएको छ ।

यस्तै मेरो पहिलो विद्यालयमा पनि २५ जना भन्दा बढी बालबालिका अध्ययनका लागि निरन्तर आइरहेका छन्

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख २ गते आइतबार