कोहलपुर,२४ चैत/ बाँकेको नरैनापुरमा एमबिबिएस डाक्टर हाजिर भएका छन् । चैत्र १४ गते उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलाशले विशेषज्ञ चिकित्सक पठाउन आदेश गरेको पर्सिपल्ट चैत्र १६ गतेदेखि कालिकोट घर भएका डा.भिष्म प्रसाद पोखरेल स्वास्थ्य केन्द्रमा हाजिर भएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।
नरैनापुरमा विद्युतीकरण, हुलाकी सडक निर्माण र विशेषज्ञ चिकित्सक पठाउन अदालतले विभिन्न समयमा गरेका आदेशहरुको कार्यान्वयनका लागि ध्यानाकर्षण गराउन पुगेको सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जसंगको भेटघाटमा अध्यक्ष शाहले आफूले निर्वाचित भएर आएदेखि गरिरहेको पहल र पछिल्लो पटक अदालतबाट भएको आदेशले बघौडाबासीलाई ठूलो राहत मिलेको बताए ।
डाक्टरलाई नियमित बसाउने र त्यहाँ निर्माणाधीन अस्पताललाई छ्ट्टिै सम्पन्न गराउने दृढता उनले व्यक्त गरेको केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले जानकारी दिए । २०५० सालमा स्थापना भएको नरैनापुर गाउँपालिका वडा नम्बर २ लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा एमबिबिएस डाक्टरको दरबन्दी भएपनि डाक्टरहरु बस्ने गरेका छैनन् ।
चिकित्सक आएर हाजिर गर्ने, केही दिन बस्ने र पछि सम्पर्कविहीन हुने गरेका थिए । दुर्गम ठाउँको बहाना बनाएर चिकित्सक नियमित रुपमा बस्ने गरेका थिएनन् । यसअघि दरबन्दी भएका डा. राजेशकुमार मण्डल पनि केही महिनादेखि सम्पर्कविहीन थिए । विशेषज्ञ चिकित्सकको दरबन्दी भएपनि उनीहरु त्यहाँ नबस्दा नरैनापुरबासी उपचारका लागि भारत जान बाध्य छन् ।
जनप्रतिनिधि आइसकेपछि अब भने डाक्टर नियमित बस्ने विश्वास स्थानीयको छ ।केन्द्रको ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष शाहले तत्काललाई सोलार बत्तीमार्फत्् गाउँ उज्यालो बनाउने र छिट्टै विद्युतीकरणको समस्या पनि समाधान गर्ने बताए ।
पछिल्लो समय दु्रत गतिमा बनिरहेको हुलाकी सडकमा पनि आफूले निरन्तर निगरानी बढाइरहेको र राप्ती पुलदेखि नर्सरीसम्मको करिब १ किलोमिटर बगरको बालुवामा गाडीहरु फस्ने क्रम बढेपछि सडक डिभिजन कार्यालयलाई ताकेता गरेर बाटो बनाउन लगाएको बताए ।
केन्द्रका अध्यक्ष तिवारीले बघौडाको विकासका लागि ध्यानाकर्षण गराइएको बताए । तिवारीले अध्यक्षले आफ्नो एक मात्र मिसन बघौडाको विकास भएको प्रतिक्रिया दिएको जानकारी
दिए ।









प्रतिक्रिया दिनुहोस्