गुलरिया-भुरीगाउँ जोड्ने हुलाकी सडक धुलाम्य, स्थानीयलाई सास्ती



सुदीप अधिकारी बर्दिया,१६ चैत/   सदरमुकाम गुलरियादेखि भुरिगाउँ जोड्ने ३२ किलोमिटर हुलाकी सडक यतिखेर धुलाम्मे भएको छ । सडक धुलाम्मे हुँदा सदरमुकाम आवतजावत गर्न जनतालाई सास्ती भएको छ । हुलाकी सडकमा भएको धुलोले गर्दा सवारी दुर्घटनाको जोखिम पनि बढेको छ ।

मोटरसाइकल, साइकल र पैदलयात्रुहरु हुलाकी सडकको धुलोबाट बढी प्रभावित भएका छन् । यसका साथै सडक नजिक घर भएका स्थानीयवासी पनि धुलोको सास्ती खेप्न वाध्य भएका छन् । हुलाकी सडकमा यतीखेर माटो पटानी र ग्रेभल हाल्ने काम भइरहको छ ।

सडक निमार्णको जिम्मा लिएको ठेकेदार कम्पनीले पटानी गरेको सडकमा पानी नहाल्दा स्थानीवासी धुलोले हैरान भएका हुन् । विपरित दिशाबाट आएको सवारीसाधन होस् वा ओभरटेक गरेर अघि गएको सवारी होस् सडकमा उडेको धुलोले गर्दा केहीबेर सडक वरपर केही पनि देखिदैन ।

ठूला सवारीसाधनले उडाएको धुलोबाट सबै भन्दा बढी मोटरसाइकलमा सवार यात्री, साइकल यात्री र पैदलयात्रीहरु हैरानी झेल्न वाध्य छन् । हुलाकी सडकमा आवतजावत गर्ने र सडक छेउका बासीन्दामा हुलोका कारण स्वासप्रश्वासको समस्या पनि बढ्दै गएको छ ।

‘धुलोको एलर्जीको समस्या लिएर दिनहुँजसो विरामी आउँछन् । धुलोले स्थानियबासी स्वास्थ्यमा समस्या पार्दै गएको छ ।’ स्वास्थ्य चौकी भुरिगाउँका अहेव विष्णु ज्ञवालीले भने । धुलोले पुरै सडक ढाक्दा दिनहुँजसो मोटरसाइकल दुर्घटना हुने गरेको स्थासयिबासी बताउँछन् ।

मधुवनका स्थानिय प्रशुराम थारु भन्छन्,‘ एउटा गाडी आउनासाथ २÷३ मिनेटसम्म धुलोले पुरै सडक ढाक्छ । जसले गर्दा साइकल यात्रु र मोटरसाइकल सडक नदेखेर पल्टन्छन् । यो दिनहुँजसो हुन्छ ।’

मोटरसाइकल, साइकलमा सदरमुकाम हिडेका मानिसहरु धुलोका कारण सदरमुकाम आइपुग्दा नचिनिने अवस्थामा हुन्छन् । ‘धुलोले बेहाल बनायो । ३२ किलोमिटर दुरी पुरा गर्न करिव २ घण्टा लाग्यो । धुलोले बाटो नै देखिदैन । बिस्तारै हाक्दा ढिलो हुन्छ ।

कार्यालयको काम नसकिएला भन्ने चिन्ता छ,’ सदरमुकाम गुलरियामा भेटिएका भुरिगाउँका नारायण बैद्यले सुनाए । धुलोका कारण हुलाकी सडक छेउका भुरिगाउँ, बग्नाहा, शाहिपुर, बेलवा, ताराताल, खैरापुरलगाएतका बजारको व्यापारसमेत प्रभावित भएको स्थानिय व्यापारीहरु बताउँछन् ।

सडक धुलाम्मे हुँदा मधुवन, ठाकुरबाबा, राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका जनतालाई सदरमुकाम आवतजावत गर्न निकै समस्या परेको छ । बर्खामा हिलो र गर्मीमा धुलोले हैरानी भोग्नु परेको स्थानियबासी बताउँछन् ।

माटो पटान गरेको सडकमा बर्खा अगावै गिट्टी विछ्याइएन भने बर्खामा सडक हिलाम्य हुने निश्चित छ । बर्खामा हिलाम्मे सडकले आवतजावतमा झनै समस्या पर्ने भन्दै स्थानियबासी अहिलेदेखि नै चिन्तीत छन् ।

धुलाम्मे सडकका कारण सदरमुकाम आवतजावत गर्दा जनताले निकै सास्ती खेप्दासमेत सरोकारवाला निकायको ध्यान पुग्न सकेको भन्दै स्थानियबासी आक्रोशित भएका छन् । एम के कन्ट्रक्सन र पप्पु कन्ट्रक्सनले हुलाकी सडकको ठेक्का लिएका छन् ।

ठेकेदारले सडकमा पानी नहाल्दा आफुहरुलाई सास्ती भएको भन्दै बुधबार मधुवनका स्थानीयबासीले ठेकेदारको टिपर करिव ४ घण्टा चल्न दिएनन् । सडकमा पानी हालेर धुलो साम्य पार्ने सहमती भएपछि स्थानियबासीले टिपर चल्न दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १६ गते शुक्रबार