मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, चैत्र ३, २०७४

शुक्रबार बाँकेको नेपालगन्जमा एकजना कैदीबन्दीले प्रहरीको आँखामा खुर्सानीले धुलो फालेर भाग्ने प्रयास गरेका छन् । तर धेरै प्रहरीले निगरानी गरिरहेका कारण उनको उक्त योजना भने सफल हुन सकेन । जवरजस्ती करणी मुद्दामा जिल्ला कारगार बाँकेमा विगत एक बर्षदेखि सजाय काटिरहेका २६ बर्षीय बसिर साईले प्रहरीको आँखामा खुर्सानीको धुलो फालेर भाग्ने प्रयास गरेका हुन् ।
शुक्रबार बिहान हर्नियाको उपचारका लागि भेरी अन्चल अस्पतालमा लगिएका साईले प्रहरी जवान शिव भुसालको आँखामा खुर्सानीको धुलो फालेर भाग्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी टेकबहादुर तामाङले जानकारी दिए ।
‘बिहान १० बजेतिर अस्पताल लगिएका साईले सौचालय जान्छु भनेको र सौचालयबाट फर्किने वित्तिकै ढोकामा उम्भिएका प्रहरी जवान भुसालको आँखामा खुर्सानी फालेर भागेका थिए’ जवान भुसाललाई उद्दृत गर्दै एसपी तामाङले भने ।
जवानलाई खुर्सानीको धुलो फालेर भागेपनि अस्पताल परिसरमा सुरक्षा निगरानी कडा भएका कारण उनको योजना प्रहरीले विफल पा¥यो । भागे लगत्तै साईलाई प्रहरी र अस्पतालमा रहेका मानिसहरुले अस्पताल परिसरबाटै पक्राउ गरेको बताइएको छ ।
आँखामा खुर्सानी लागेर घाइते भएका प्रहरी जवान भुसालको आँखा अस्पतालमा उपचार गरिएको छ । जानकी गाउँपालिका गनापुरका साईले २०७३ फागुन १४ गतेदेखि १० बर्ष कारागार सजाय काटिरहेका छन् ।