कोहलपुर,३ चैत/ बाँकेको राप्तीसोनारी गाउँपालिका–२ राजपुरका बाढी पीडितहरुले बस्ती स्थानान्तरको माग गर्दै गाउँपालिकमाको कार्यालयमा शुक्रबार ज्ञापनपत्र बुझाएका छन् ।
बाढी पीडित जिल्ला संघर्ष समितिका अध्यक्ष तिलक घर्तीको नेतृत्वमा गएको ‘डेलिकेशन’ टोलीले गाउँपालिका अध्यक्ष लाहुराम थारुलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझ्दै अध्यक्ष थारुले बाढी पीडितका समस्याहरु समाधान गर्न सक्दो पहल गर्ने प्रतिवद्धता जनाए । जिल्ला दैवी प्रकोप उद्दार समितिको निर्णयअनुसार सबै वडाका वडा अध्यक्षहरुलाई बाढी पीडितहरुको फाइल मगाइएको र समयमा नआएको हुँदा फाइलहरु आउन बित्तिकै बाढी पीडितका समस्या समाधानका लागि प्रदेश सरकारलाई सिफारिस गरिने उनले बताए ।
बाढी पीडित संघर्ष समितिका अध्यक्ष घर्तीले आफूले बस्ती स्थानान्तरका लागि जिल्ला वन कार्यालय हुँदै तत्कालीन प्रधानमन्त्री सुशिल कोइराला समयदेखि पुष्पकमल दहाल प्रधानमन्त्री हुँदासम्म पहल गरेपनि बस्ती स्थानान्तर नभएको गुनासो गरे ।
राजपुरका जेष्ठ बाढी पीडित शेरु डाँगीले आफूहरुको नम्बरी जग्गामा वृक्षारोपन गरी त्यसको सट्टा आफूहरुलाई सुरक्षित स्थानमा बस्ती स्थानान्तर गर्नुपर्ने माग राखे । अर्का स्थानीय वनशक्ति सामुदायिक वनका अध्यक्ष डिल्ली केसीले वर्षेनी आउने बाढीका कारण सो क्षेत्रको सयौं विगाह खेतीयोग्य जमिन बगरमा परिणत हुन गएकोले बस्तीलाई नै स्थानान्तर गर्नुपर्ने बताए ।
राजपुरका बाढी पीडितहरुले स्थानीय वनशक्ति सामुदायिक वनको ब्लक नम्बर २ र ३ मा स्थानान्तर गर्नुपर्ने माग राखेका छन् । २०५१ सालमा आएको बाढीका कारण ५१ घर र ०७४ मा ४३ घर पूर्ण रुपमा क्षति भएका थिए । सो क्षेत्रका बासिन्दाहरु अहिले स्थानीय वनशक्ति सामाुदायिक वनको खाली चौरमा बस्दै आएका छन् ।
जिल्ला दैवी प्रकोप उद्धार समितिको २०७२ जेठ २० र ०७२ माघ ४ को निर्णयअनुुसार सो क्षेत्रको बस्ती उच्च जोखिममा रहेको हुँनाले उक्त क्षेत्रको बस्ती स्थानान्तर गर्नुपर्छ भनी नेपाल सरकारलाई सिफारिस गरी पठाइएको संघर्ष समितिका अध्यक्ष घर्तीले बताए ।
राजपुरको पूर्वमा परुवा खोला र पश्चिममा झिझिरी खोला रहेकोले सो बस्ती उच्च जोखिममा रहेको छ ।









प्रतिक्रिया दिनुहोस्