बाल विवाह तथा लागूऔषध दुर्व्यसनसम्वन्धी अभिमूखीकरण



यानबी साहु : कोहलपुर,१ चैत/   बाँकेको बैजनाथ गाउँपालिकामा बुधबार बाल विवाह तथा लागूऔषध दुव्र्यसनी सम्वन्धी अभिमूखीकरण कार्यक्रम गरिएको छ ।

बैजनाथ गाउँपालिका बाल सञ्जालको आयोजना तथा प्लान इन्टरनेशनल र स्याक नेपालको आर्थिक सहयोग एवं ईलाका प्रहरी कार्यालय बैजनाथ–३ नौवस्थाको समन्वयमा सो अभिमूखीकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रम बैजनाथ गाउँपालिकाका दुईवटा विद्यालय बागेश्वरी मावि नौवस्था र जनता आदर्श मावि डिगियामा छुट्टा छुट्टै रुपमा गरिएको थियो । बैजनाथ बाल सञ्जालका अध्यक्ष खगेन्द्र बुढाले बाल विवाह अवस्था, यसबाट हुने असर र रोकथाम तथा न्यूनीकरणको बारेमा सहजीकरण गरेका थिए ।

यस्तै ईलाका प्रहरी कार्यालय बैजनाथ–३ नौवस्थाका प्रमुख टुकाराम अधिकारीले यवा युवतीहरु लागूऔषध दुव्र्यसनीमा लाग्नुको कारण, यसबाट पर्ने असर लगायतका बारेमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा वडा नम्बर ३ का वडा सदस्य राजाराम चौधरी, बाल संरक्षण समिति वडा नम्बर ३ का संयोजक टोप बहादुर घर्ती, स्याक नेपालकी फिल्ड अफिसर कल्पना अधिकारी, बागेश्वरी मावि र जनता आदर्श मावि दुबै विद्यालयका शिक्षक, विद्यार्थी गरी करिव ४ सय बढिको सहभागिता रहेको थियो ।

सिओसी अन्तर्गत बाल राजदुत मञ्जु विकको सभापतित्वमा सम्पन्न कार्यक्रम बाल सञ्जालका सचिव सर्जन आचार्यले सञ्चालन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १ गते बिहीबार