कोहलपुर,२६ फागुन/ पछिल्लो समयकी चर्चित तथा समधुर स्वरकी धनी गजलकार देवकी निरौलाको गजल संग्रह ‘उद्घोष’ को एक कार्यक्रमका बिच शनिबार कोहलपुरमा विमोचन गरिएको छ ।
गजल संग्रहको कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी बाँके क्षेत्र नं.१ ख की सांसद आरती पौडेलले उद्घोष भित्रको गजल वाचन गरेर सो कृतिको विमोचन गरेकी थिइन् । सोही अवसरमा ज्ञानोदय सामुदायिक पुस्कालयलाई उक्त कृति उपहारस्वरूप प्रदान गर्दै समेत गरेकी थिइन् ।
गजल संग्रह विमोचन तथा कवि गोष्ठी कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाकी उप मेयर उमा थापा मगर, कोहलपुर नगरपालिकाकी उप–मेयर सञ्जु कुमारी चौधरी, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव वरिष्ठ कथाकार सनत रेग्मी, साहित्यकार किरण आचार्य, सालिकराम सापकोटा, भरत रानाभाट, इश्वरी रिजाल, बद्री ढकाल, देवेन्द्र आचार्य, विष्णु पादुका, वि पी अस्तु, शान्ति अधिकारी, नमिता बराल, भुपेन्द्र सुवेदी, तुलाधर बिश्वकर्मा लगायत दुई दर्जन बढी साहित्यकारहरुले रचना वाचन गरेको थिए ।
सोही अवसरमा बिक्रम शिशिरको संयोजकत्वमा रहेको कला उपसमितिका कलाकारहरुबाट बनाएका चित्रहरु पनि प्रर्दशन गरिएको थियो । कार्यक्रममा करिब १ सय ५० बढि साहित्यकार तथा साहित्यका पारखीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष महानन्द ढकालको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सचिव पुष्कर रिजालले गरेका थिए ।