कविन्द्र परियार/यानबी साहु : कोहलपुर,२३ फागुन/ बाँकेको कोहलपुर नगरभित्र जथाभावी निमार्ण सामाग्री थन्क्याउँदा नगरभित्र आवगमनमा समस्या देखिनुका साथै दुर्घटनाको समेत उच्च समस्या देखिएको छ ।
मनपरी रुपमा नगर भित्री सडकहरुमा घर तथा अन्य निमार्णका समाग्रीहरु जथाभावी थुपार्दा थप समस्या निम्तिएको छ । महिनौ सम्म नगर भित्र ढुङगा, बालुवा गिट्टी, इट्टा जस्ता निर्माण सामाग्रीहरु सडकमै थन्क्याउँदा नगर समेत कुरुप बनेको छ ।
कोहलपुरका स्थानीय चन्द्र प्रसाद ज्ञवालीले सडक पेटी हुदाँहुदै पनि सडकमै निमार्ण सामाग्री थुप्रार्नु सार्थक नभएको बताए । ‘सडक जस्तो सार्वजनिक ठाउँमा एक जना व्यक्तिले निर्माण सामाग्री फालेर बाटो कब्जा गर्ने गरेर अरुलाई दुःख दिनु राम्रो होईन’ उनले भने ।
अर्का स्थानीय अटो रिक्सा चालक झगु प्रसाद थारुले सडक छेउमा अव्यवस्थित रुपमा फालिएको रोडा गाडीले उछिट्याउँदा आफ्नो अटो रिक्साको सिसा फुटेको बताए । अव्यवस्थित रुपमा फालिएको निर्माण सामाग्रीका कारण अटो रिक्सा चलाउँदा समेत गाह्रो हुने उनको भनाई छ ।
कोहलपुर नगरपालिका—११ की शिक्षिका शान्ता थापाले कार्यालय समयमा सबै हतारमा हिड्ने भएकोले सडकमा अव्यवस्थित रुपमा फालिएका निमार्ण सामाग्रीले दुर्घटनाको जोखिम बढाएको बताइन् ।
यस्तै दिपक विष्टले नगर विकास समितिले घडेरी बिक्रि गर्दा निर्माण सामाग्रीहरु राखिदिने व्यवस्था गरिदिनु पर्ने बताए । ६ धुरको घडेरी किनेकाले निमार्ण सामाग्री कहाँ राख्ने ? उनले भने ।
कोहलपुर नगरपालिका भित्रका एन टि भी रोड, दश विगाह, रेडक्रस मार्ग, कृषि हाटबजार स्थल, लगायत दर्जनौं स्थानहरुमा राखिएको अव्यवस्थित रुपमा निर्माण समाग्री राखिएको पाइएको छ ।
कतिपय स्थानहरुमा घर निमार्ण गर्नु भन्दा पहिले नै सडकमा निमार्ण सामाग्रीहरु थन्क्याउँदा समेत समस्या देखिएको छ । कोहलपुर नगर विकास समितिका अध्यक्ष अवराज खड्काले यसको सम्पुर्ण रेखदेख नगरपालिकाले गर्नुपर्ने बताए ।
कुनै पनि व्यक्तिले अव्यवस्थित रुपमा निमार्ण सामाग्रीहरु बाटोमा राखी कुनै संरचनाहरु भत्किएको खण्डमा स्वम व्यक्तिले नै निर्माण गर्ने गरी मञ्जुरीनामा बनाएर काम गर्नका लागि आफुले ढाँचा बनाएर दिए पनि नगरपालिकाले कार्यन्वयन नगरेको अध्यक्ष खड्काले बताए ।
कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले पटक पटक माईकिङ गरेर सडकमा अव्यवस्थित रुपमा निमार्णका सामाग्रीहरु नराख्न आग्रह गरेपनि स्थानीयले अटेरी गरिरहेको बताए । यस विषयमा अनुगमन गरी कारबाही गरिने प्रमुख रावतको भनाई छ ।
‘कोहलपुर नगरीलाई हराभरा र स्वच्छ बनाउन सबैको दायित्व भएकोले म सबै नगरबासीलाई अटेरी नभएर यो अभियनमा अनुरोध गर्छु ।’ उनले भने ।